जनकपुरधाम । मधेश आन्दोलनका शहीदहरूको योगदान र बलिदानलाई राज्य र राजनीतिक नेतृत्वले बिर्सिँदै गएको भन्दै जनकपुरधाममा आयोजित एक कार्यक्रमका सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार जनकपुरधाममा शहीद संजय चौधरी, नितु यादव र दिलिप यादवको स्मृतिमा आयोजित कार्यक्रममा सहभागीहरूले मधेश आन्दोलनपछि नेतृत्वमा पुगेका नेताहरूले शहीदका सपना र आन्दोलनका मूल मुद्दालाई प्राथमिकतामा नराखेको गुनासो गरे।
कार्यक्रमअन्तर्गत बिहान शहीद गेटमा रहेका शहीदका सालिकमा माल्यार्पण तथा सरसफाइ गरिएको थियो। त्यसपछि रौनियार धर्मशालामा ‘मधेशको अबको बाटो’ विषयक संवाद कार्यक्रम आयोजना गरिएको थियो।
सो अवसरमा प्रतिष्ठानले धनुषा, महोत्तरी र सर्लाहीका शहीद परिवारलाई सम्मान गरेको थियो। मधेश आन्दोलनमा सहभागी सामाजिक अभियन्ता, युवा तथा स्थानीय नेताहरूलाई समेत सम्मान गरिएको थियो।
संवादमा सहभागी वक्ताहरूले मधेश आन्दोलनका उपलब्धि, कमजोरी र त्यसपछिको राजनीतिक यात्राको गम्भीर समीक्षा आवश्यक रहेको बताए। उनीहरूले आन्दोलनमा योगदान दिएका शहीदको सम्मान र उनीहरूले उठाएका मुद्दाको सम्बोधनमा राजनीतिक नेतृत्व चुकेको आरोप लगाए।
वक्ताहरूले मधेशका शीर्ष नेताहरूले आफूलाई सच्याउँदै नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। पछिल्ला निर्वाचनमा जनताले देखाएको असन्तुष्टिलाई राजनीतिक नेतृत्वले गम्भीर रूपमा लिनुपर्ने उनीहरूको भनाइ थियो।
मधेशका प्रत्येक जिल्लामा यस्ता संवाद र समीक्षा कार्यक्रम सञ्चालन गरी आन्दोलनका उपलब्धि, कमजोरी तथा आगामी राजनीतिक बाटोबारे बहस गर्नुपर्ने सहभागीहरूले बताए।
मधेशको अधिकार, पहिचान र सम्मानका लागि जीवन बलिदान गरेका शहीदहरूको सपना पूरा गर्नु नै उनीहरूप्रतिको सच्चा सम्मान हुने वक्ताहरूको भनाइ थियो।
कार्यक्रम शहीद संजय चौधरी स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा शहीद संजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता संजय यादवले गरेका थिए।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो