१० हजार पर्यटक भित्र्याउने लक्ष्यसहित अपि हिमाल पर्यटन उत्सव हुँदै

अपि हिमालमा तीनदिने पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा कात्तिक १७ देखि १९ गतेसम्म ‘अपि हिमाल पर्यटन उत्सव’ आयोजना हुने भएको छ। पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी तथा आयआर्जनका अवसर सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो।

अपि हिमाल क्षेत्रलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना हुन लागेको उत्सवमा १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए।

उनका अनुसार तीन दिनसम्म साहित्यिक, सांस्कृतिक, खेलकुद, योग तथा ध्यान र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछन्।

उत्सवको पहिलो दिन राष्ट्रिय तथा स्थानीय साहित्यकार र कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रम र साहित्यिक गोष्ठी आयोजना हुनेछ। दोस्रो दिन प्रदेशस्तरीय मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ। यस दिन अपि हिमालको आधार शिविरमै क्रिकेट खेल आयोजना गरिने गाउँपालिकाले जनाएको छ।

तेस्रो दिन अपि हिमाल क्षेत्रलाई ‘वेलनेस टुरिजम’को केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले योग तथा ध्यान शिविर सञ्चालन गरिनेछ। साथै, जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन विशेष जलवायु संवाद आयोजना गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर बिष्टले बताए।

आगामी नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको संवादमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका चुनौतीबारे छलफल गरिनेछ।

उत्सवमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा पठाइएको छ। पर्यटनमन्त्री खड्गराज पौडेल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा सातै प्रदेशका पर्यटनमन्त्रीलाई पनि आमन्त्रण गरिएको बिष्टले बताए। प्रधानमन्त्री शाहको सहभागिता भने निश्चित भइसकेको छैन।

गत असारमा प्रधानमन्त्री शाहले अपि हिमालको आधार शिविरमा क्रिकेट खेलिरहेको भिडियो आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेका थिए। उक्त भिडियो चर्चामा आएको थियो। गाउँपालिकाले सोही क्षेत्रको पर्यटकीय सम्भावना उजागर गर्दै पर्यटन उत्सव आयोजना गर्न लागेको हो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ