काठमाडौंमा चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। सोमबार बिहान ५ः४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस मापन गरिएको छ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार यो प्रारम्भिक मापन हो। आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८ः४५ बजे मापन हुनेछ। त्यसबेलासम्म तापक्रम थप घट्न सक्ने भए पनि प्रारम्भिक मापनकै आसपास कायम रहन सक्ने उनले बताए।

आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस थियो। अघिल्लो दिनको तुलनामा सोमबार बिहान तापक्रम ०.२ डिग्रीले घटेको छ।

मौसमविद्का अनुसार राति आकाश बादलले ढाकिँदा बिहानको न्यूनतम तापक्रम बढ्ने र आकाश खुला रहँदा घट्ने गर्छ।

महाशाखाले हरेक दिन बिहान ८ः४५ बजे न्यूनतम र साँझ ५ः४५ बजे अधिकतम तापक्रम मापन गर्छ। न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको चिसो अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको तापक्रमको अवस्था देखाउँछ।

पछिल्ला दिनमा देशभर तापक्रम घट्दै गएको छ भने चिसो बढ्न थालेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ