अपाङ्गतामैत्री विद्यालय भवन हस्तान्तरण

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, पिपरियास्थित श्री सरस्वती आधारभूत विद्यालयमा नवनिर्मित दुईकोठे बाल तथा अपाङ्गतामैत्री भवन शुक्रबार हस्तान्तरण गरिएको छ।

विद्यालयमा बालबालिकाको सुरक्षित तथा गुणस्तरीय शिक्षामा पहुँच बढाउने उद्देश्यले निर्माण गरिएको भवन स्थानीय सरकारमार्फत विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

एनएनएसडब्लुए (NNSWA) र वर्ल्ड भिजन इन्टरनेसनलको साझेदारीमा सञ्चालित पाठशाला परियोजनाअन्तर्गत भवन निर्माण गरिएको हो।

भवन हस्तान्तरण कार्यक्रममा कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा, एनएनएसडब्लुएकी अध्यक्ष मायादेवी सार्की, महासचिव रूपा कौशल परियार, कार्यकारी निर्देशक अशोक विक्रम जैरू तथा संस्थाका कर्मचारी र वर्ल्ड भिजन इन्टरनेसनलका कञ्चनपुर जिल्ला संयोजक सहभागी थिए।

नवनिर्मित भवनले विशेषगरी बालबालिका तथा अपाङ्गता भएका विद्यार्थीलाई सुरक्षित, सहज र पहुँचयोग्य वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय सरकारको नेतृत्व, संस्थागत साझेदारी र समुदायको सहकार्यबाट विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै समावेशी तथा गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको एनएनएसडब्लुएले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ