सबै कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने प्रयास जारी छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ ले देशका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ ले साना–ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई थप तीव्र बनाउने बताए। विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ थियो।

एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने उल्लेख गर्दै उनले कम्युनिष्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको बताए।

दाहालले नेकपा एमालेसँग तीनबुँदे र नेकपा मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारिएको जानकारी दिए। अन्य कम्युनिष्ट समूहसँग पनि निरन्तर छलफल भइरहेको भन्दै उनले विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै सहकार्य तथा कार्यगत एकतालाई विस्तार गर्नुपर्नेमा जोड दिए।

उनले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग संयुक्त मोर्चा निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको बताए। शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्यका लागि सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनको भनाइ थियो।

देशभरबाट सामूहिक पहल गर्न सके ती शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने उनले विश्वास व्यक्त गरे।

अन्तर्राष्ट्रिय शक्तिसँग संवाद र सम्बन्ध विस्तारमा विगतमा आफूहरूबाट कमजोरी भएको महसुस गरेको उल्लेख गर्दै ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय भूमिकालाई निरन्तर अघि बढाइरहेको बताए।

दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय संरचना र मान्यताहरू विघटन हुँदै गएको उनको भनाइ थियो। विश्वमा नयाँ मान्यता र संरचना निर्माणका लागि ध्रुवीकरणको लहर चलिरहेको उल्लेख गर्दै उनले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिअनुसार नेपालले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ