उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारका सकारात्मक काममा पार्टीको साथ रहने बताएका छन्। तर, विपद्का बेला कमजोरी देखिए खबरदारी गर्नु विपक्षीको दायित्व भएको उनको भनाइ छ।

प्रतिनिधि सभामा बोल्दै आङदेम्बेले भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा भएको ढिलाइप्रति असन्तुष्टि जनाए। विशेषगरी सुरुङभित्र फसेका नागरिकको उद्धारमा भएको ढिलाइ गम्भीर र अमानवीय भएको उनले बताए।

उनले सरकार प्रचारमा भन्दा प्रभावित क्षेत्रमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै विपद्को समयमा उद्धार, राहत र पुनःस्थापना सबैको साझा जिम्मेवारी भएको बताए। कांग्रेस विपद्पीडित परिवार र सरकारसँगै रहेको उनको भनाइ थियो।

आङदेम्बेले आफ्नो दलले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी प्रधानमन्त्री र सभामुखलाई अवस्थाबारे जानकारी गराएको पनि बताए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ