रास्वपाका सांसद र मन्त्रीको कार्यशैलीबारे रवि लामिछानेको चासो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूको संसद्मा देखिने प्रस्तुति तथा कार्यशैलीबारे आन्तरिक समीक्षा थालेको छ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भएको छलफलमा संसद्मा सांसद तथा मन्त्रीहरूले प्रस्तुत गर्ने भाषा, व्यवहार र शैलीबारे समीक्षा गरिएको हो।

पछिल्लो समय संसद्मा मन्त्रीहरूको प्रश्नको जवाफ दिने शैली र सांसदहरूको प्रस्तुति आलोचनाको विषय बन्दै आएको छ।

विशेषगरी प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले चेतावनीपूर्ण ढङ्गले जवाफ दिने तथा आफ्ना माग पूरा नभएको अवस्थामा सांसदहरू पनि आक्रोशित र रुखो रूपमा प्रस्तुत हुने गरेको टिप्पणी हुँदै आएको छ।

यही पृष्ठभूमिमा रास्वपाले संसद्मा पार्टीको प्रस्तुति थप जिम्मेवार, संयमित र मर्यादित बनाउने विषयमा छलफल गरेको हो। जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्रभावकारी ढङ्गले उठाउने तथा आफ्ना धारणा राख्दा संसदीय मर्यादा कायम गर्ने विषयमा समेत छलफल केन्द्रित रहेको बताइएको छ।

संसदीय समिति र संसद्का बैठकमा रास्वपाका सांसदहरूको प्रस्तुति शैलीबारे बाहिरबाट भइरहेका टिप्पणीलाई समेत ध्यानमा राख्दै पार्टी नेतृत्वले आन्तरिक सुधारको आवश्यकता औँल्याएको जनाइएको छ।

सभापति लामिछानेले जनताका मुद्दा उठाउँदा विषयवस्तुसँगै प्रस्तुति र व्यवहार पनि जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ