किशोर श्रेष्ठको प्रश्न–‘श्रीषा कार्की काण्डको सानो चोक्टा टिपेर मलाई सिध्याउने खेल किन ?’

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले आफूविरुद्ध पछिल्लो समय भइरहेको प्रचार र घटनाक्रमलाई लिएर सामाजिक सञ्जालमार्फत गम्भीर प्रश्न उठाएका छन्।

श्रेष्ठले ३९ वर्षदेखि पत्रकारिताबाहेक अन्य कुनै कारोबार नगरेको दाबी गर्दै आफूलाई पक्राउपछि विभिन्न प्रहरी चौकीमा डुलाएर ‘अब आजीवन भित्रै कुहिन्छ’ भन्ने भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन्।

अर्कोतर्फ २४ वर्ष पुरानो श्रीषा कार्की प्रकरणको एउटा पक्षलाई मात्रै उठाएर नयाँ पुस्तालाई गुमराहमा पार्ने प्रयास भइरहेको उनको भनाइ छ।

उनले आफूविरुद्धको पछिल्लो अभियानको सुरुवात अढाइ महिनाअघि आफ्ना मित्र युवराज घिमिरेमार्फत भएको दाबी गर्दै त्यसपछिको अभियान कसले सञ्चालन गर्‍यो, कहाँबाट को–को परिचालित भए र कसले कसलाई फोन तथा भेटेर के लेख्न निर्देशन दियो भन्ने विषयमा आफूहरू बेखबर नरहेको उल्लेख गरेका छन्।

श्रेष्ठले श्रीषा कार्की प्रकरणसँग जोडिएका परिवारका सदस्य तथा अन्य पीडित परिवारको अवस्थाप्रति पनि सञ्चारमाध्यम र अभियन्ताहरूको ध्यान जानुपर्ने बताएका छन्।

उनले चितवनमा भिडियो रेकर्ड गराएपछि ज्यान गुमाएका पत्रकार शालिकराम पुडासैनीकी पत्नी सम्झनाको अवस्थाबारे प्रश्न गर्दै उनको परिवारलाई पनि सम्झनुपर्ने बताएका छन्। त्यस्तै, चालक शम्भुकी श्रीमतीले सिन्धुपाल्चोकमा कष्टकर जीवन बिताइरहेको उल्लेख गर्दै त्यसतर्फ पनि ध्यान दिन आग्रह गरेका छन्।

श्रेष्ठले श्रीषा कार्कीका भाइ राजेन्द्र र बहिनी अम्बिकासँग समेत लामो समयदेखि सम्पर्क नगरिएको दाबी गर्दै एकपटक उनीहरूलाई भेटेर घटनाको वास्तविकता बुझ्न आग्रह गरेका छन्।

‘पीर तपाईंहरूलाई ती नारीहरू र शोकसन्तप्त परिवारको लाग्दै नलागेकै हो ? कि यही मौकामा किशोर श्रेष्ठलाई सिध्याइदिऊँ भन्ने मात्रै एकसूत्रीय ध्याउन्न भयो ?’ भन्दै उनले प्रश्न गरेका छन्।

श्रेष्ठले आफूविरुद्धका आरोप तथा प्रचारलाई तथ्यमा आधारित बनाउन सरकारी निकायमा रहेका कागजात अध्ययन गर्नसमेत आग्रह गरेका छन्। गृह मन्त्रालय, प्रहरीका सम्बन्धित युनिट, सरकारी वकिल तथा महान्यायाधिवक्ताको कार्यालयमा घटनासम्बन्धी तथ्य र प्रमाण रहेको उनको दाबी छ।

उनले आवश्यक परे आफूहरूसँग रहेका कागजात तथा प्रमाणको प्रतिलिपि लिएर अध्ययन गर्न सकिने बताएका छन्।
श्रेष्ठले व्यक्ति किशोर श्रेष्ठ र संस्था जनआस्थालाई समाप्त गर्ने उद्देश्यले आग्रह–पूर्वाग्रहका आधारमा आफूहरूलाई ‘छद्म खेलको गोटी’ नबनाउन आग्रह गरेका छन्।

‘सके सहयोग गर्नुहोस्, नसके पीडित परिवारजनलाई घाउ बल्झाएर थप पीडा नदिनुहोस्,’ उनले लेखेका छन्।

आफ्नो परिवारलाई समेत सामाजिक सञ्जालमा अश्लील तथा आपत्तिजनक आरोपसहितका भिडियोमार्फत ट्रोल गरिएको भन्दै श्रेष्ठले त्यसलाई प्रोत्साहन नगर्न आग्रह गरेका छन्। उनले आठ वर्षअघि निधन भएकी आफ्नी आमाको स्मरण गर्दै बिरामी पत्नी र बालबालिकामाथि समेत सत्ताको आडमा आपत्तिजनक प्रचार भइरहेको दाबी गरेका छन्।

अन्त्यमा श्रेष्ठले आफूविरुद्ध भइरहेको प्रचार र लेखनभन्दा माथि उठेर सम्बन्धित पक्षलाई संवेदनशीलता र करुणा अपनाउन आग्रह गरेका छन्।
‘तपाईंहरूले यसबीच धेरै–धेरै लेखन कला देखाइसक्नुभयो । अब बिन्ती, आफैलाई करुणाकी खानी बन्ने मौका दिनुहोस्,’ उनले फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ