चीनको उद्धार हेलिकप्टर नेपाल आइपुग्यो

काठमाडौं । रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा बाढीपछि फसेका नेपाली तथा विदेशी इन्जिनियर, प्राविधिक र कामदारको उद्धारका लागि चीनले पठाएको उद्धार टोलीसहितको हेलिकप्टर नेपाल आइपुगेको छ।

चीनको जनमुक्ति सेनाका सुरुङ उद्धारसम्बन्धी चार जना विशेषज्ञसहितको टोली हेलिकप्टरमार्फत नेपाल आइपुगेको हो।
सुरक्षा स्रोतका अनुसार समय बचत गर्दै उद्धार कार्यलाई उच्च प्राथमिकता दिन हेलिकप्टर केरुङतर्फबाट सीधै सम्बन्धित जलविद्युत् आयोजनाको विद्युतगृह क्षेत्रमा ल्याण्ड गरिएको छ।

गत बुधबार बिहान आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा मानिसहरू फसेका छन्। उनीहरूको उद्धारका लागि नेपाली सुरक्षा निकाय तथा प्राविधिक टोलीले प्रयास जारी राखिरहेका बेला चीनबाट विशेषज्ञ टोली आएको हो।

चिनियाँ सुरुङ उद्धार विशेषज्ञको आगमनसँगै सुरुङभित्र फसेकाहरूको उद्धार कार्य थप प्रभावकारी र तीव्र हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ