-रोबिन जर्ज एन्ड्र्युज
बुधबार नेपाल र चीनमा पानी, ढुङ्गा र लेदोको भीषण भेल हिमाली नदीको उपत्यकामा अचानक खस्दा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीको बहावले अनगिन्ती घर, पुल र सडक बगाउनुका साथै धेरै मानिसलाई समेत बगाएको छ भने कैयौँलाई बाक्लो लेदोमुनि पुरेको छ ।
वैज्ञानिकहरूले घटनाको वास्तविक कारण र प्रकृतिबारे अझै अध्ययन गरिरहेका छन् । प्रारम्भिक आकलनअनुसार जमिनभन्दा हजारौँ फिट माथि रहेको हिमनदीको केही भाग र त्यससँगै आसपासको भीरको ठुलो हिस्सा एकैपटक भत्किएर उपत्यकामा खसेको देखिन्छ ।
यद्यपि यो विशेष विपद्को पूर्वानुमान गर्न सकिएको थिएन, हिमनदीको तीव्र र विनाशकारी पतनजस्तो जोखिम भने तीव्र रूपमा तातिँदै गएको विश्वमा सामान्य बन्दै गएको छ । मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनका कारण हिमनदीहरू अभूतपूर्व गतिमा पग्लिरहेका छन् । हिमनदी पर्याप्त मात्रामा पग्लिएपछि हिमालका उच्च भेगमा अस्थिर अवस्थामा रहेका बरफका विशाल संरचना तल खस्न सक्छन् र त्यसको मार्गमा पर्ने जुनसुकै संरचना तथा बस्तीलाई तहसनहस पार्न सक्छन् ।
उच्च हिमनदी भएका क्षेत्र हिमालयमा मात्र सीमित छैनन् । नर्वे र न्युजिल्यान्डदेखि आइसल्यान्ड र चिलेसम्मका विश्वका विभिन्न उच्च हिमाली क्षेत्रमा यस्ता जोखिम बोकेका हिमनदीहरू रहेका छन् ।
काठमाडौं विश्वविद्यालयका हिमनदी विज्ञ तथा नेसनल जियोग्राफिक एक्सप्लोरर मोहनबहादुर चन्दका अनुसार, “तीव्र तापक्रम वृद्धि र हिउँ पग्लिने गतिमा भएको वृद्धिका कारण विश्वका सबै हिमनदीयुक्त क्षेत्र जोखिममा छन् ।”
हिमनदी रहेको स्थान र भौगोलिक अवस्थाअनुसार यसको पतनले अचानक आउने विनाशकारी बाढीदेखि गगनचुम्बी भवनजत्तिकै उचाइको विशाल सुनामीसम्म निम्त्याउन सक्छ ।
“तर अवस्था पूर्ण रूपमा निराशाजनक भने छैन,” कोलोराडो विश्वविद्यालय, बोल्डरका हिमनदीजन्य जोखिम विज्ञ तथा नेसनल जियोग्राफिक एक्सप्लोरर अल्टन बायर्सले बताएका छन् । उनका अनुसार, जोखिमपूर्ण अवस्थाका केही हिमनदीलाई उचित रूपमा निगरानी गर्ने हो भने तिनमा भत्किनुअघि नै केही सङ्केत देखिन सक्छन् । यस्तो अवस्थामा समयमै जोखिम पहिचान गरेर आवश्यक कदम चाल्न सके हजारौँ मानिसको ज्यान जोगाउन सकिन्छ ।
तर, पृथ्वीको तापक्रम निरन्तर बढ्दै गएका कारण भविष्यमा यस्ता उपाय लाखौँ मानिसलाई सुरक्षित राख्न पर्याप्त हुनेछन् त ?
हिमनदीको विस्फोटक शक्ति
हिमनदीहरू विश्वका हरेक महादेशमा पाइन्छन् । हिमाली डाँडाकाँडा र भिरालो चुचुरामाथि अडिएका हिमनदीहरू पग्लिँदा, चर्किँदा वा अचानक भत्किँदा त्यसले ज्यानै लिन सक्ने विभिन्न प्रकारका विशाल भू-गतिशीलता निम्त्याउन सक्छ । यसमा पग्लिएको पानीको अत्यन्त शक्तिशाली बहावदेखि डरलाग्दा हिमपहिरो र पहिरोको मिश्रित स्वरूपसम्म पर्न सक्छ ।
यदि कुनै हिमनदी अग्लो र साँघुरो फियोर्डमा भत्किएर खस्यो भने त्यसबाट ‘मेगासुनामी’ अर्थात् अत्यन्त विशाल सुनामी उत्पन्न हुन सक्छ । हिमनदीले बनाएका, दुवैतर्फ ठाडा चट्टानी भीर वा पहाडले घेरिएको लामो र साँघुरो समुद्री खाडीलाई फियोर्ड भनिन्छ । सन् २०२३ मा पूर्वी ग्रिनल्यान्डमा भएको एउटा विशाल चट्टान-बरफ हिमपहिरो तलको साँघुरो जलक्षेत्रमा खस्दा करिब ६५० फिट अग्ला छाल उठेका थिए । ती शक्तिशाली छालले फियोर्डका चट्टानी किनारासमेत क्षतविक्षत पारेका थिए ।
सन् २०२५ मा अलास्काको एउटा फियोर्डमा यस्तै प्रकृतिको अर्को हिमनदीजन्य पतन भयो, जसबाट १ हजार ५८० फिट अग्लो मेगासुनामी उत्पन्न भयो । उक्त अलास्काली फियोर्डमा क्रुज जहाजहरू नियमित रूपमा आवतजावत गर्छन् । तर, भाग्यवश, मेगासुनामी बिहान सबेरै आएको थियो, त्यसैले त्यसबेला फियोर्ड खाली थियो र ठुलो मानवीय क्षति हुन पाएन ।
कहिलेकाहीँ हिमनदीहरू निकै दुर्गम क्षेत्रमा मात्र होइन, मानव बस्ती नजिकै पनि अचानक भत्किन्छन् । गत मेमा स्विस आल्प्सको लोत्स्चेन उपत्यकास्थित बिर्च हिमनदीको ठुलो हिस्सा अचानक भत्किँदा चट्टान र बरफसहितको विशाल हिमपहिरो आएको थियो । त्यसले करिब २ करोड टन गेग्रान थुपार्दै ब्लाटेन गाउँको अधिकांश भाग पुरेको थियो ।
हालै नेपालको हिमालय क्षेत्रमा भएको हिमनदी भत्किनाले पनि यस्तै भयावह अवस्थाको अर्को उदाहरण प्रस्तुत गरेको छ । बुधबार नेपाल–तिब्बत सीमामा रहेको लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडाबाट केही ठुलो संरचना अचानक खसेको थियो ।
फ्रान्सस्थित युनिभर्सिटी ग्रेनोबल आल्प्सकी जियोमोर्फोलोजिस्ट क्रिस्टेन कुकका अनुसार, “हिमनदीको ठीक तल रहेको चट्टानी भूभागको ठुलो हिस्सा भत्किएको थियो । हिमनदीमुनिको जमिन नै भासिएपछि त्यसले हिमनदीलाई समेत आफूसँगै तल खसाल्यो ।”
खसिरहेको बरफको अत्यन्त तीव्र गतिका कारण त्यसको केही हिस्सा पग्लिएको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । साथै, चट्टान खस्दा त्यसले केही समयका लागि ल्हेन्दे नदीको बहाव थुनेर अस्थायी ताल बनेको र पछि उक्त प्राकृतिक बाँध अचानक फुटेको सम्भावना पनि छ ।
“बाँध बनेको समय, त्यसको आकार र थुनिएको पानीको मात्रा अझै पुष्टि भइसकेको छैन । तर बाढी आउनुको सबैभन्दा सम्भावित कारण यही हुन सक्छ,” चन्दले भने ।
कुनै पनि एकल विपद्को कारणलाई वायुमण्डलीय तापक्रम वृद्धिसँग मात्र जोड्न सकिँदैन । तर यस घटनामा उच्च हिमाली क्षेत्रमा रहेको पर्माफ्रोस्ट (वर्षौँदेखि जमेर रहेको स्थायी माटो तथा चट्टान) कमजोर भएको हुन सक्ने देखिन्छ । बायर्सका अनुसार, पर्माफ्रोस्ट “हजारौँ वर्षदेखि हिउँ, बरफ र चट्टानलाई एकसाथ बाँधेर राख्ने क्रायोस्फेरिक ग्लु” जस्तै हो । हाम्रो तातिँदो विश्वका कारण यो प्राकृतिक ‘ग्लु’ कमजोर हुँदै गएको हुन सक्ने उनको भनाइ छ ।
वास्तवमा, विश्वव्यापी तापक्रम वृद्धि यी सबै हिमनदीसम्बन्धी पतनका घटनामा प्रमुख योगदानकारी कारकका रूपमा उल्लेख गरिएको छ । यसको कारण पनि सरल छ । चन्दका अनुसार, “तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने गति तीव्र हुन्छ । हिमताल बन्ने क्रम र अन्य कारणसँगै कमजोर भूगर्भीय संरचनाले हिमाली क्षेत्रलाई अस्थिर बनाउँछ ।”
अर्को हिमनदीजन्य विपद्को पूर्वानुमान
यदि पृथ्वीको वायुमण्डल र समुद्रको तापक्रम यसैगरी निरन्तर बढिरह्यो भने आगामी केही दशक चुनौतीपूर्ण हुनेछन् । हिमनदीजन्य जोखिमका घटना अझ बढी बारम्बार हुने र सम्भवतः तिनको विनाशकारी परिमाणसमेत बढ्नेछ ।
कुक भन्छिन्, “उच्च हिमाली क्षेत्रमा अझ धेरै अस्थिरता देखिने अपेक्षा गरेका छौँ । नेपालमा भएको यो घटना असाधारण रूपमा ठुलो थियो । तर यसै प्रकृतिका निकै साना हिमनदी पतनका घटना भने निश्चित रूपमा भइरहनेछन् ।”
तर हिमनदीजन्य जोखिमको समस्या हिमालयमा मात्र सीमित छैन ।
बायर्सका अनुसार, पेरुको कोर्डिलेरा ब्लान्कासहित एन्डिज पर्वत क्षेत्रमा सन् १९४० को दशकदेखि नै विनाशकारी हिमताल विस्फोटजन्य बाढीका घटना देखिन थालेका थिए । यसको एउटा कारण त्यहाँका हिमनदी तुलनात्मक रूपमा कम उचाइमा हुनु र तापक्रम वृद्धिको प्रभाव उनीहरूमा छिटो तथा पहिले नै पर्नु हो ।
भविष्यमा आउने भीषण बाढीको जोखिम कम गर्न केही इन्जिनियरिङ उपाय, जस्तै पानी निकासका लागि नाली तथा संरचना निर्माण गर्ने कामसमेत गरिएको छ । तर यस्ता सुरक्षात्मक उपायले हिमनदीलाई पग्लिन र भत्किनबाट भने रोक्न सक्दैनन् ।
कुकका अनुसार, हिमालय विशेष रूपमा जोखिममा छ । यहाँ अत्यन्त भिराला ढलानमाथि रहेका हिमनदीको संख्या ठुलो छ र तिनको ठीक तल पनि त्यत्तिकै भिराला नदी उपत्यका छन् । ती उपत्यकामा धेरैजसो अवस्थामा सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारसमेत निर्माण भएका छन् ।
हिमनदी भत्किने जोखिमका अतिरिक्त, सन् २०१९ को एउटा अध्ययनले २१० वटा हिमताललाई मानव बस्तीका लागि सम्भावित जोखिमका रूपमा पहिचान गरेको थियो । यी हिमताल अचानक फुट्दा अकस्मात् विनाशकारी बाढी आउन सक्ने जोखिम रहेको अध्ययनले देखाएको थियो ।
यसको अर्थ मानवता यस्ता विपद्का अगाडि निरिह नै छ भन्ने होइन । हरितगृह ग्यास उत्सर्जन घटाएर हिमनदीलाई स्थिर राख्ने दीर्घकालीन प्रयास आफ्नै ठाउँमा छन् । तर वैज्ञानिकहरूले पछिल्लो समय हिमनदी पतनअघि नै चेतावनी दिएर असंख्य मानिसको ज्यान जोगाउन सकिने उदाहरणसमेत प्रस्तुत गरेका छन् ।
सन् २०२५ मा स्विट्जरल्यान्डको ब्लाटेन गाउँलाई पुरेको हिमपहिरो ठुलो विपद् थियो । तर त्यस गाउँका कसैको पनि ज्यान गएन । कारण थियो-हिमनदी भत्किनुभन्दा नौ दिनअघि नै स्थानीय बासिन्दा र उनीहरूका पशुचौपायालाई सुरक्षित स्थानमा सारिएको थियो ।
नर्वेजियन जियोटेक्निकल इन्स्टिच्युटका प्राकृतिक विपद् अनुसन्धानकर्ता तथा ब्लाटेनकै स्थानीय बासिन्दा बेन्जामिन बेलवाल्डका अनुसार, उक्त हिमनदी सन् १९९० को दशकदेखि नै समस्याग्रस्त रहेको थाहा थियो । सन् २०२५ को सुरुआतसम्म आइपुग्दा हिमनदीबाट चट्टान खस्ने क्रम बढ्दै गएपछि वैज्ञानिक र नीतिनिर्माताहरू सतर्क भएका थिए । स्थानीय बासिन्दाको निरन्तर निगरानीसँगै विभिन्न वैज्ञानिक प्रविधिबाट गरिएको अनुगमनले अब धेरै समय नलागी हिमनदी भत्किन सक्ने संकेत दिएको थियो ।
“अत्यन्त स्पष्ट र खुला सञ्चारका कारण सहज रूपमा उद्धार तथा स्थानान्तरण गर्न सकियो । अन्ततः ब्लाटेनका कुनै पनि बासिन्दाले ज्यान गुमाउनुपरेन,” बेलवाल्ड भन्छन् । उक्त घटनाबाट करिब ४० करोड डलर बराबरको आर्थिक क्षति भए पनि पूर्वसूचना नभएको भए गुम्न सक्ने मानवीय जीवन भने जोगियो ।
के यस्तै प्रणाली हिमालयका हिमनदीमा पनि लागु गर्न सकिन्छ ? सम्भवतः सकिन्छ । बायर्सका अनुसार नेपालका सम्बन्धित निकायसँग मिलेर भविष्यमा हिमनदीजन्य विपद् आउन सक्ने सम्भावित स्थान पहिचान गर्ने, जोखिम नक्सा तयार पार्ने र स्थानीय समुदायलाई विपद्का लागि तयार पार्ने योजना विकास गर्ने काम भइरहेको छ ।
तर यसमा केही ठुला चुनौती पनि छन् । बेलवाल्डका अनुसार, “हिमालय अत्यन्त विशाल क्षेत्र भएकाले यहाँ निगरानी गर्नु आल्प्सको तुलनामा स्वाभाविक रूपमा धेरै चुनौतीपूर्ण छ ।” वैज्ञानिकहरूलाई पहिले नै जोखिमपूर्ण देखिएका केही हिमनदीलाई प्राथमिकतामा राखेर निगरानी गरे पनि हरेक हिमनदीले भत्किनुअघि एउटै किसिमका चेतावनी संकेत दिन्छ भन्ने छैन ।
तर यस्ता पूर्वसूचना प्रणाली प्रभावकारी हुन सक्ने चन्द बताउँछन्- त्यसका लागि जोखिममा रहेका देशले “अत्यन्त परिष्कृत र निरन्तर निगरानी प्रणाली” सञ्चालन गर्नुपर्ने हुन्छ । समस्या के हो भने स्विट्जरल्यान्डसँग उपलब्ध आर्थिक स्रोत र प्रविधि सबै देशसँग हुँदैन । “हिन्दुकुश-हिमालय क्षेत्रका विकासशील देशहरूले अझ ठुलो चुनौती सामना गरिरहेका छन्,” उनी भन्छन् ।
बायर्सका अनुसार सबैभन्दा व्यापक समस्यामध्ये एउटा विनाशकारी बाढीको जोखिममा रहेका नदी तथा बाढी मैदानमा नियमनबिनाको निर्माण र तीव्र सहरीकरण हो । यस्ता जोखिमपूर्ण क्षेत्रमा जति धेरै मानिस र पूर्वाधार थपिँदै जान्छन्, भविष्यमा हुने मानवीय क्षति पनि त्यति नै ठुलो हुने सम्भावना रहन्छ ।
अझै धेरै काम गर्न बाँकी छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, अर्को हिमनदी कहिले र कहाँ भत्किन्छ वा अचानक बाढी आउँछ भन्ने कुरा अहिलेसम्म ठ्याक्कै थाहा छैन । अहिलेका लागि एउटा कुरा भने निश्चितजस्तै देखिन्छ ।
चन्द भन्छन्, “अझ धेरै विपद् आउँदैछन् ।”
– नेसनल जियोग्राफिक








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो