काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितहरुको अवस्था बुझ्न तथा तत्काल आवश्यक सहयोग उपलब्ध गराउन विभिन्न संघसंस्थाको संयुक्त टोली सोमबार नुवाकोटतर्फ गएको छ।
ओरेक नेपाल, तरङ्गिणी फाउन्डेसन, लुम नेपाल, शान्ति फाउन्डेसनलगायत संस्थाको संयुक्त टोली प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा आवश्यकताको पहिचान गर्न नुवाकोटतर्फ गएको हो।
ओरेक नेपालले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको जानकारीअनुसार बाढीबाट प्रभावित समुदायमा ठूलो क्षति भएकाले राहत तथा उद्धारसँगै प्रभावितको वास्तविक अवस्था र प्राथमिक आवश्यकता पहिचान गर्न आवश्यक रहेको जनाएको छ।
टोलीसँग महिला तथा बालबालिकाको सुरक्षासँग सम्बन्धित सामग्रीसहित अति आवश्यक राहत सामग्री र मनोविमर्शकर्ता (काउन्सेलर) समेत रहेको ओरेकले जनाएको छ। विपद्का कारण मनोसामाजिक समस्या वा परामर्शको आवश्यकता भएका व्यक्तिलाई टोलीसँग सम्पर्क गराउन सहयोग गर्न पनि आग्रह गरिएको छ।
टोलीले नुवाकोट पुगेपछि स्थानीय समुदाय तथा सरोकारवालासँग भेटघाट गरी बाढीबाट भएको क्षति, प्रभावितको अवस्था र तत्काल आवश्यक सहयोगबारे जानकारी संकलन गर्नेछ।
ओरेकका अनुसार स्थलगत अवस्थाको अध्ययनपछि प्रभावित समुदायका प्राथमिक आवश्यकताका आधारमा आगामी दिनमा थप सहयोग तथा प्रतिकार्यका कार्यक्रम अघि बढाइनेछ। साथै, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक सहयोगलाई प्रभावकारी बनाउने तयारी गरिएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य, महिला तथा बालबालिकाको सुरक्षा र मनोसामाजिक सहयोगलगायत विषयमा थप आवश्यकता देखिन सक्ने भएकाले त्यसको विवरण संकलन गरी आगामी सहयोगका लागि योजना बनाइने ओरेकले जनाएको छ।
गत १० गते बिहान करिब ९ बजे भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीमा परी धेरै मानिसले ज्यान गुमाएका छन् भने हजारौँको संख्यामा मानिस बेपत्ता रहेको जनाइएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य अहिले पनि विभिन्न निकायको समन्वयमा जारी छ।
बाढीका कारण प्रभावित क्षेत्रमा ठूलो क्षति भएपछि राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था र सरकारी निकायले सक्रियता बढाएका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु