काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई पुनःस्थापित गर्दै जनजीवन सामान्य बनाउन पूर्वाधार विकास मन्त्रालयले विशेष कार्यदल गठन गरेको छ।
मन्त्रालयका अनुसार कार्यदलले आगामी २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी जिम्मेवारी पाएको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कनदेखि अत्यावश्यक पूर्वाधार पुनःसञ्चालनसम्मका काममा कार्यदलले समन्वय र सहजीकरण गर्नेछ।
कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, झोलुङ्गे पुल, खानेपानी, सञ्चार तथा स्वास्थ्य संरचनाको क्षति पहिचान गर्नेछ। भग्नावशेष व्यवस्थापन र प्रभावित नागरिकको पुनर्वासका लागि आवश्यक कामसमेत अघि बढाइने मन्त्रालयले जनाएको छ।
त्यस्तै, संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकाय, सुरक्षा संयन्त्र, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी आवश्यक जनशक्ति, उपकरण, सामग्री र आर्थिक स्रोतको व्यवस्थापनमा सहजीकरण गर्ने कार्यदलको जिम्मेवारी छ।
मन्त्रालयका अनुसार कार्यदलले बाढीबाट भएको क्षति र सम्भावित जोखिमको प्राविधिक मूल्याङ्कन गरी प्रभावित क्षेत्र, संरचना र परिवारलाई जोखिम तथा प्राथमिकताका आधारमा वर्गीकरण गर्नेछ। त्यसका आधारमा तत्कालीन, अल्पकालीन र दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना तयार गरिनेछ।
पुनर्निर्माणका क्रममा भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढी, पहिरोलगायत सम्भावित जोखिमलाई समेत ध्यानमा राखिनेछ। साथै, दोहोरो लगानी र स्रोतको दुरुपयोग रोक्न एकीकृत योजना तथा सूचना प्रणाली प्रयोग गर्ने व्यवस्था गरिएको छ।
आवश्यक नीतिगत, कानुनी, प्रशासनिक तथा बजेटसम्बन्धी निर्णयका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने, कार्यप्रगतिको नियमित प्रतिवेदन तयार गर्ने तथा कामको अनुगमन र गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारीसमेत कार्यदललाई दिइएको छ।
बाढीपछिको पुनःस्थापनाबाट प्राप्त अनुभव र तथ्यका आधारमा भविष्यमा हुने विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक नीतिगत सुझाव दिने काम पनि कार्यदलले गर्ने मन्त्रालयले जनाएको छ।
कार्यदल गठनको मुख्य उद्देश्य भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक पूर्वाधारलाई शीघ्र सञ्चालनमा ल्याउनु, प्रभावित नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउनु र उनीहरूलाई क्रमशः सामान्य जनजीवनमा फर्काउनु रहेको मन्त्रालयले जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो