पृथ्वी राजमार्ग अवरुद्ध हुँदा १०५ वटा ग्यास बुलेट बाटोमै रोकिए

काठमाडौं । बाढीपहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकाका लागि ल्याइँदै गरेका १०५ वटा ग्यास बुलेट बाटोमै रोकिएका छन्।

नेपाल आयल निगमका अनुसार भारतका विभिन्न स्थानबाट ग्यास बोकेर आएका बुलेट चितवन, हेटौँडा र आसपासका क्षेत्रमा रोकिएका हुन्। वीरगन्ज भन्सारबाट प्रक्रिया पूरा गरेर काठमाडौं आउँदै गरेका बुलेट राजमार्ग अवरुद्ध भएपछि अघि बढ्न सकेका छैनन्।

बुधबारदेखि परेको लगातार वर्षाका कारण पृथ्वी राजमार्गको कृष्णभिरसहित विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। सडक खुलेलगत्तै रोकिएका ग्यास बुलेट काठमाडौं भित्र्याइने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए।

निगमका अनुसार १०५ वटा बुलेटमा करिब १ लाख ५० हजार सिलिन्डर बराबरको ग्यास रहेको छ। यी बुलेट काठमाडौं उपत्यकामा रहेका १६ वटा ग्यास ब्रान्डका लागि ल्याइएका हुन्।

सडक खुलेपछि ग्यास काठमाडौं आइपुगेमा दैनिक ५० देखि ६० हजार सिलिन्डरसम्म बजारमा पठाउन सकिने निगमले जनाएको छ। आइतबार मात्रै उपत्यकामा १७ हजार सिलिन्डर ग्यास वितरण गरिएको थियो।

आपूर्ति प्रभावित भएपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको अभाव देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ