चार जोखिमयुक्त हिमतालको पानी घटाउने तयारी

काठमाडौं । भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले सम्भावित जोखिम कम गर्न चार उच्च हिमाली हिमतालको पानी घटाउने योजना अघि बढाउने भएको छ।

सरकारले चालु आर्थिक वर्षमा थुलागी, लोअर बरूण, लुम्दिङ छो र होङ्गु–२ हिमतालको विस्तृत अध्ययन तथा डिजाइन सुरु गर्ने तयारी गरेको हो। यी हिमताललाई सम्भावित रूपमा उच्च जोखिमयुक्त मानिएको छ।

सरकारी अधिकारीका अनुसार करिब ५ करोड अमेरिकी डलर लागत अनुमान गरिएको परियोजनामा नियन्त्रित रूपमा पानी निकास गर्ने संरचना, जोखिम निगरानीका सेन्सर, बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रणाली निर्माण गरिनेछ।

परियोजना पूरा हुन करिब ६ वर्ष लाग्न सक्ने बताइएको छ। हिमतालको पानी घटाएर प्राकृतिक बाँध फुट्दा तल्लो तटीय क्षेत्रमा आउन सक्ने बाढीको जोखिम कम गर्ने सरकारको लक्ष्य छ।

नेपालले यसअघि त्सो रोल्पा र इम्जा हिमतालको पानीको सतह घटाइसकेको छ। जलवायु परिवर्तनका कारण हिमनदी पग्लिँदै जाँदा नयाँ हिमताल बन्ने र पुराना हिमताल विस्तार हुने क्रम बढेकाले जोखिम न्यूनीकरणमा सरकारले तदारुकता बढाएको हो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ