भोटेकोशी बाढी प्रभावितलाई राहत सामग्री वितरण

रसुवा । भोटेकोशी बाढी प्रभावित ६० घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका बाढी प्रभावित परिवार तथा जोखिममा रहेका महिलालाई राहत सामग्री वितरण गरिएको हो।

स्टार्ट फन्ड एन–नेपालअन्तर्गत सञ्चालित एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रममार्फत आइतबार र सोमबार बाढीका कारण दैनिक जीवन प्रभावित भएका परिवार तथा विशेष जोखिममा रहेका एकल महिलालाई लक्षित गरी राहत वितरण गरिएको आयोजकले जनाएको छ।

राहत वितरणका क्रममा प्रभावित परिवारसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था, तत्कालीन आवश्यकता र समस्याबारे जानकारीसमेत लिइएको थियो। पहिलो चरणमा खाद्य तथा दैनिक उपभोग्य सामग्रीसँगै जाडोयामका लागि आवश्यक सामग्री, खानेपानी र सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराइएको छ।

रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले आगामी हप्तामा उत्तरगया–१ र ५ का प्रभावित समुदायको आवश्यकता पहिचान गरी सोही आधारमा राहत तथा सहयोग उपलब्ध गराइने जानकारी दिए।

यसैबीच, यूएन वुमनको आर्थिक सहयोग तथा रोयम नेपालको सहजीकरणमा रसुवा र नुवाकोटको विदुरका तीन स्थानमा एक महिनादेखि सामुदायिक भान्सा सञ्चालन भइरहेको छ। भान्सामार्फत बाढी प्रभावित तथा विस्थापित परिवारलाई बिहानको चिया–नास्तादेखि साँझको खानासम्म उपलब्ध गराइँदै आएको छ।

सामुदायिक भान्सामा प्रभावित परिवारका सदस्यलाई कामको अवसरसमेत दिइएको छ। यसबाट विपद्का कारण आयआर्जन गुमाएका परिवारले तत्काल रोजगारी तथा आम्दानीको अवसर पाएको जनाइएको छ। भान्सामा स्थानीय तथा प्रभावित महिलाको सहभागितालाई प्राथमिकता दिइएको छ।

उत्तरगया–२ का वडा अध्यक्ष टुकु सुवेदीले विपद्का समयमा प्राप्त राहत तथा सहयोगले प्रभावित समुदायको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण योगदान पुगेको बताए। उनले विशेषगरी विद्यालयमा खानेपानीको सहज व्यवस्था गर्न आवश्यक सहजीकरण गरिदिन आग्रह गरे।

श्री डाँडागाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले सामुदायिक भान्सा र राहत सहयोगबाट विद्यालयको छात्रावासमा बस्ने विद्यार्थीलाई कठिन अवस्थामा ठूलो सहयोग पुगेको बताए।

रोयम नेपालका अपरेसन प्रमुख अनुप खनालले समुदायको मागअनुसार विद्यालयमा खानेपानीको व्यवस्था गर्न आवश्यक समन्वय गरिने बताए। उनका अनुसार तत्काल राहतसँगै प्रभावित समुदायलाई पुनःस्थापना र प्रारम्भिक पुनःप्राप्तिको प्रक्रियामा सहयोग पुर्‍याउने कार्यक्रम पनि अघि बढाइएको छ।

‘सँगै मिलेर अझ बलियो पुनर्निर्माण’ भन्ने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिकाका वडा नं. १, २ र ५ तथा नुवाकोटको विदुर नगरपालिका–१ मा राहत, खानेपानी तथा सरसफाइ, स्वास्थ्य, शिक्षा, बाल संरक्षण, मनोसामाजिक सहयोग, पोषण र जीविकोपार्जन पुनःस्थापनालगायतका गतिविधि सञ्चालन भइरहेका छन्।

रेन (रेजिलियन्स, एडप्टेसन एन्ड इन्क्लुजन इन नेपाल) कार्यक्रमअन्तर्गत यूके इन्टरनेसनल डेभलपमेन्ट (एफसीडीओ) मार्फत स्टार्ट फन्ड एन–नेपालको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको हो। आसमान नेपालको नेतृत्वमा रोयम नेपाल, एलएसीसीओएस र वेल्थहङ्गरहिल्फे (डब्ल्यूएचएच) को सहकार्य तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को निर्देशनमा कार्यक्रम कार्यान्वयन भइरहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ