सङ्खुवासभा । सङ्खुवासभाका १० वटै स्थानीय तहमा आगामी पुस १ देखि १० गतेसम्म क्षयरोगका नयाँ बिरामी पहिचान विशेष अभियान सञ्चालन गरिने भएको छ।
क्षयरोगका बिरामी पहिचान, प्रयोगशाला परीक्षणको दायरा विस्तार र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले १० दिने अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ।
कार्यालयले सदरमुकाम खाँदबारीमा आयोजना गरेको जिल्लास्तरीय क्षयरोग कार्यक्रमको योजना तर्जुमा, विश्लेषण तथा समीक्षा कार्यक्रममा अभियानबारे जानकारी गराइएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन विनोद थापाका अनुसार जिल्लामा हालसम्म ८२ जना क्षयरोगका बिरामी पहिचान भएका छन्। चालु आर्थिक वर्षको साउनयता मात्रै ३० जना नयाँ बिरामी फेला परेका छन्।
समीक्षा कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालित क्षयरोगसम्बन्धी कार्यक्रमको उपलब्धि, नयाँ बिरामीको पहिचान, उपचाररत बिरामीको अवस्था र उपचारपछि निको भएकाहरूको तथ्याङ्क विश्लेषण भइरहेको छ।
कोशी प्रदेशमा भने कुल ४ हजार ७४५ जना क्षयरोगका बिरामी रहेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी फोकल पर्सन सुजाता बुढाथोकीका अनुसार सबैभन्दा बढी सुनसरीमा १ हजार ३३० र सबैभन्दा कम सोलुखुम्बुमा २१ जना बिरामी छन्।
उनले क्षयरोग नियन्त्रणका लागि समयमै रोग पहिचान, नियमित परीक्षण र औषधिको पूरा मात्रा सेवन आवश्यक रहेको बताइन्। यसका लागि स्थानीय तह र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय हुनुपर्ने उनको भनाइ छ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश भट्टका अनुसार जिल्लामा क्षयरोगसम्बन्धी सेवा १८ वटा स्वास्थ्य संस्थाबाट उपलब्ध हुँदै आएको छ। तीमध्ये आठवटा संस्थामा प्रयोगशाला परीक्षण सेवा सञ्चालनमा छन्।
समीक्षा कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, प्रयोगशाला प्रमुख तथा स्वास्थ्यकर्मी सहभागी छन्। कार्यक्रममा क्षयरोग नियन्त्रणका प्रयास, उपलब्धि, चुनौती र आगामी कार्ययोजनाबारे छलफल भइरहेको छ।
क्षयरोगको संक्रमण फैलिन नदिन समयमै परीक्षण, बिरामीको पहिचान र नियमित उपचारलाई प्राथमिकता दिनुपर्नेमा सहभागीले जोड दिएका छन्।
फोटो : एआई निर्मित








नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
१८ वर्ष नपुग्दै विवाह गर्नेको संख्या बढ्दो
तरकारी खेती तालिमले आत्मनिर्भर बन्ने आशा
भोटेकोशीमा श्रीमान् गुमाएकी पेमालाई सरकारको साथ
घोप्टेभीरको पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
युवा नीति निर्माणका हिस्सेदार बन्नुपर्छ : लक्ष्मी विक
भूकम्पबाट क्षतिको विवरण प्राप्त भएको छैन : प्रजिअ दाहाल
एमालेले स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरसंवाद गर्दै