काठमाडौँ। बाल्यकालमा बालुवा चालेर, गिट्टी कुटेर कष्टकर जीवन बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी शनिबार आफ्नै जन्मभूमि झुप्रा खोला पुगिन्। उनले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई समेत साथमा लिएर स्थानीयका समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी गराइन्।
कुनै समय जीविकोपार्जनका लागि गिट्टी कुटेको बस्तीमा मन्त्रीका रूपमा फर्किएकी बादीले स्थानीय दाजुभाइ तथा दिदीबहिनीसँग भेटघाट गर्दै उनीहरूका समस्या र अपेक्षा सुनिन्। उनले आफ्नो बाल्यकालका अभाव र सङ्घर्षसँग जोडिएको बस्तीको वर्तमान अवस्था शिक्षामन्त्रीलाई देखाउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरिन्।
भेटघाटका क्रममा विद्युत्, खानेपानी, शिक्षा, रोजगारी, बस्ती व्यवस्थापन र आधारभूत पूर्वाधारका समस्या उठेका थिए। खोलाको किनारमा जोखिमपूर्ण अवस्थामा रहेको बस्तीका स्थानीयले वर्षौंदेखि आधारभूत सेवाको अभाव र आर्थिक कठिनाइ भोग्दै आएको सुनाए।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोलामा २०४४ सालदेखि बालुवा चाल्दै,गिट्टी कुट्दै जीविकोपार्जन गरिरहेका वादी समुदायका पेसा बन्द भएपछि धेरै परिवारको आम्दानीको स्रोत गुमेको र वैकल्पिक रोजगारी नहुँदा दैनिक गुजारा गर्नसमेत कठिन भएको उनीहरूको भनाइ थियो।
भेटमा बादी समुदायका बालबालिकाको शिक्षामा पहुँचको विषयले विशेष प्राथमिकता पायो। जन्मदर्ता नहुँदा १५ जना बालबालिका शिक्षाको अवसरबाट वञ्चित भइरहेको विषयमा मन्त्री बादीले शिक्षामन्त्री पोखरेलको ध्यानाकर्षण गराइन्। पोखरेलले ती बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न आवश्यक सहजीकरण र पहल गर्ने प्रतिबद्धता जनाए।

त्यस्तै, स्थानीय महिलाको आर्थिक अवस्था सुधार र आत्मनिर्भरताका लागि सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग पनि उठेको थियो। मन्त्री बादीले झुप्रा खोलाका महिलालाई लक्षित गरी छिट्टै सीपमूलक तालिम सञ्चालन गर्ने जानकारी दिइन्। तालिमलाई व्यावहारिक सीप, स्वरोजगार र दिगो आयआर्जनसँग जोड्ने उनको भनाइ थियो।
आफ्नै विगत र जन्मभूमिको अवस्था स्मरण गर्दै बादीले सत्ता र जिम्मेवारीको वास्तविक अर्थ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्दा मात्र सार्थक हुने बताइन्। आफ्नो विगतको सङ्घर्ष नबिर्सी त्यसबाट प्राप्त अनुभवलाई सामाजिक परिवर्तनको शक्तिमा बदल्ने उनको प्रतिबद्धता थियो।
झुप्रा खोलाका बालबालिकाले शिक्षाको अवसर पाउने, महिलाले आत्मनिर्भर बन्ने र प्रत्येक परिवारले सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्। स्थानीयका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र आवश्यक पहल गर्ने पनि उनले बताइन्।
भ्रमणमा प्रधानमन्त्रीका मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र प्रतिनिधिसभा सदस्य तारा विश्वकर्माको समेत उपस्थिति थियो।








सुकुम्बासीले भने-जग्गामा नाम देखिएकै आधारमा सुकुम्बासी होइन भन्न मिल्दैन
सुत्केरी र नवजात शिशुको हवाई उद्धार
कांग्रेसले ‘हामी तयार छौँ’ अभियानमा प्रतिनिधि खटाउँदै
सबै कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने प्रयास जारी छ : प्रचण्ड
माडीमा ‘रातो राजनीति’ बारे सडक संवाद हुँदै
प्रधानमन्त्रीको भारत भ्रमणबारे नेकपाको मिश्रित प्रतिक्रिया
संविधान र शान्ति सम्झौताका उपलब्धिमाथि प्रहार भइरहेको छ : प्रचण्ड
बालेनको भारत भ्रमणमा राष्ट्रिय मुद्दा ओझेलमा परेको पोखरेलको टिप्पणी
दिउँसो १ बजे कांग्रेसको बैठक बस्ने