हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुँदै गर्दा प्रचण्डले सम्झिए आफ्नो पहल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन्।

प्रचण्डले सोमबार सामाजिक सञ्जालमार्फत हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको पहलका लागि सरकारलाई धन्यवाद दिँदै यसबाट कपडा उपभोगमा रहेको नेपालको आयातनिर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका हुन्।

आफूले सरकारको नेतृत्व गरेका बेला हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार भएको उल्लेख गर्दै प्रचण्डले त्यसैका आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योगसहित गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायत सार्वजनिक उद्योग पुनः सञ्चालन गर्ने विषय अघि बढाइएको बताए।

उनले सघन गृहकार्यसहित अघि बढाइएको प्रक्रिया सरकारबाट बाहिरिएपछि रोकिएको भए पनि अहिले पुनः अघि बढ्नु सुखद भएको बताएका छन्।

प्रचण्डले हेटौँडा कपडा उद्योगसँगै सम्भावना भएका अन्य सार्वजनिक उद्योगलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन्।
यस्ता उद्योगको पुनरुत्थानले देशमा उत्पादन बढाउने, आयात घटाउने र रोजगारी सिर्जना गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ।

‘आत्मनिर्भर अर्थतन्त्र’ निर्माणका लागि सार्वजनिक उद्योगको पुनरुत्थान महत्वपूर्ण हुने उल्लेख गर्दै प्रचण्डले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियालाई परिणाममुखी ढंगले अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ