नागरिकको गुनासो सुन्ने जिम्मा विजय जैरुलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य विजय जैरुलाई सार्वजनिक सेवा तथा गुनासो व्यवस्थापन विभाग प्रमुखको महत्वपूर्ण जिम्मेवारी दिएको छ।

पार्टी संगठनलाई थप व्यवस्थित बनाउँदै नागरिकसँगको प्रत्यक्ष सम्बन्ध र जनसरोकारका विषयलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित जैरुलाई उक्त जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।

नयाँ जिम्मेवारीअन्तर्गत जैरुको नेतृत्वमा रहने विभागले नागरिकले सरकारी तथा सार्वजनिक सेवा प्राप्त गर्ने क्रममा भोग्नुपरेका समस्या, गुनासा र सुझाव संकलन गर्नेछ।

प्राप्त गुनासाको अध्ययन गरी आवश्यक पहलका लागि सम्बन्धित निकाय तथा सरोकारवालासम्म पुर्‍याउने र समाधानका लागि समन्वय गर्ने विभागको प्रमुख जिम्मेवारी रहनेछ।

सरकारी कार्यालय तथा सार्वजनिक सेवा प्रवाहमा नागरिकले झेलिरहेका ढिलासुस्ती, झन्झट, पहुँचको समस्या तथा अन्य सेवासम्बन्धी गुनासालाई व्यवस्थित रूपमा सम्बोधन गर्ने उद्देश्य विभागले लिएको छ। नागरिकका आवाजलाई केवल संकलनमा सीमित नराखी सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि पहल गर्ने अपेक्षा गरिएको छ।

रास्वपाको स्थापनाकालदेखि नै पार्टी गतिविधिमा सक्रिय जैरु संगठन विस्तार, जनसम्पर्क तथा प्रचार–प्रसारका क्षेत्रमा सक्रिय रहँदै आएका नेता हुन्। विशेषगरी सुदूरपश्चिम प्रदेशमा पार्टीको संगठन निर्माण र विस्तारमा उनको भूमिका महत्वपूर्ण रहेको पार्टीभित्र चर्चा हुने गरेको छ।

विभिन्न तहमा संगठन निर्माण गर्दै जनतासँग प्रत्यक्ष सम्पर्कमा रहँदै आएका जैरुलाई दिइएको नयाँ जिम्मेवारीलाई पार्टीले नागरिक र संगठनबीचको सम्बन्ध थप मजबुत बनाउने अवसरका रूपमा लिएको छ।

नयाँ जिम्मेवारीसँगै जैरुले नागरिकका समस्या प्रत्यक्ष रूपमा सुन्ने, तिनलाई प्राथमिकताका आधारमा व्यवस्थापन गर्ने तथा पार्टीको सम्बन्धित संरचनामार्फत नीतिगत र व्यावहारिक समाधानका लागि आवाज उठाउने अपेक्षा गरिएको छ।

रास्वपाले सुरुदेखि नै नागरिकका दैनिक समस्या र सार्वजनिक सेवामा देखिएका कमजोरीलाई राजनीतिक प्राथमिकतासँग जोड्दै आएको छ। यही अवधारणालाई संस्थागत र प्रभावकारी बनाउन सार्वजनिक सेवा तथा गुनासो व्यवस्थापन विभागलाई महत्वपूर्ण संरचनाका रूपमा हेरिएको छ।

जैरुलाई दिइएको जिम्मेवारीले नागरिकका गुनासालाई व्यवस्थित रूपमा सम्बोधन गर्न सहयोग पुग्ने र पार्टी तथा नागरिकबीचको सम्बन्ध थप सुदृढ बन्ने विश्वास गरिएको छ। साथै, सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउन र समाधानका लागि दबाब तथा समन्वय गर्न विभाग प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ