कृष्णपुरमा आईपीएफ परियोजनाको समीक्षा : सामाजिक परीक्षणले देखायो सकारात्मक प्रभाव

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ। स्थानीय परियोजना सल्लाहकार समितिका संयोजक तथा कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रौपती रानाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।

कृष्णपुर नगरपालिका–५ स्थित नगरपालिकाकाे सभाहलमा आयोजित बैठकमा वल्ड भिजन नेपालसँगको साझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघद्धारा संचालित इन्टिग्रेटेड प्रोजेक्ट फ्रेमवर्क (आईपीएफ) परियोजनाको हालसम्मको प्रगति समीक्षा, आगामी कार्यक्रम तथा सामाजिक परीक्षण प्रतिवेदनमाथि छलफल गरिएको थियो।

बैठकमा परियोजना कार्यक्षेत्रका वडा अध्यक्षहरू, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरु, बाल क्लबका प्रतिनिधि, पत्रकार तथा स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।
बैठकमा आईपीएफ परियोजनाको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै परियोजना संयोजक रामेश्वर जैरुले विगत पाँच वर्षदेखि कृष्णपुर नगरपालिकामा वल्ड भिजन नेपालसँगको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताउँदै आईपिएफ परियाेजना भने विगत एक बर्षदेखि संचालनमा आएकाे जानकारि दिए।

आईपिएफ परियाेजना नगरपालिकाका वडा नम्बर १, २, ४, ७ र ९ लाई कार्यक्षेत्र बनाएर सञ्चालन गरिएका कार्यक्रमअन्तर्गत बाल अधिकार संरक्षणका साथै सामुदायिक विद्यालयमा सुविधासम्पन्न अपांगमैत्री शौचालय निर्माण, विद्यालय भवन निर्माण तथा खानेपानीका धारा निर्माण गरिएको छ।

त्यस्तै, करिब २ हजार ५ सय बालबालिकालाई स्टेशनरी सहयोग उपलब्ध गराइनुका साथै विभिन्न क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको परियोजनाले जनाएको छ।
कार्यक्रमअन्तर्गत मनोसामाजिक समस्यामा परेका बालबालिका तथा उनीहरूका अभिभावकलाई समेत मनोविमर्श सेवा उपलब्ध गराइएको परियोजना संयोजक जैरुले जानकारी दिए। परियोजनाको फिल्ड कार्यालय कृष्णपुर नगरपालिका–५, गुलरियामा रहेको र सोही कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

यसैबीच, परियोजनाको सामाजिक परीक्षण समेत गरिएको छ। सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. दीपक चन्द्र भट्टले परियोजनाको सामाजिक परीक्षण गरेका हुन्।
सामाजिक परीक्षणका क्रममा परियोजनाको कार्यक्षेत्रमा स्थलगत अनुगमन गरी तयार पारिएको प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको थियो। प्रतिवेदनले कार्यक्षेत्रमा परियोजनामार्फत भएका सकारात्मक काम तथा उपलब्धिहरूलाई उजागर गरेको सहभागीहरूले प्रतिक्रिया दिएका थिए।

नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले कृष्णपुर नगरपालिकालाई नमुना स्थानीय तहका रूपमा विकास गर्ने उद्देश्यसहित संस्थाले विगत वर्षदेखि विभिन्न परियोजना सञ्चालन गर्दै आएको बताए।
उनले आगामी दिनमा नगरपालिकाका अन्य वडामा समेत नयाँ कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए।

परियोजनाले बाल अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत बाल क्लब गठन, बालबालिकाको क्षमता अभिवृद्धि, स्थानीय सरकारलाई बालमैत्री कानुन निर्माणमा सहयोग तथा बालमैत्री योजना तर्जुमाका लागि पैरवीलगायतका गतिविधि सञ्चालन गरिएको छ।

परियोजना संयोजक जैरुले बाल अधिकार संरक्षणसँगै स्थानीय समुदायको आवश्यकता र मागका आधारमा भौतिक पूर्वाधार विकासका कार्यक्रमसमेत सञ्चालन गरिने बताए।
बैठकमा सहभागीहरूले परियोजनाले शिक्षा, बाल अधिकार संरक्षण, मनोसामाजिक सहयोग तथा समुदायको मागमा आधारित पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी र व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ