सप्तकोशीका ४२ ढोका खोलिए

सप्तरी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन्। शनिबार बिहान ८ बजे गरिएको मापनअनुसार नदीमा प्रतिसेकेन्ड ३ लाख १३ हजार ३ सय क्युसेक पानी बगिरहेको छ।

सप्तकोशीमा १ लाख ५० हजार क्युसेकभन्दा माथिको बहावलाई जोखिमपूर्ण मानिन्छ। बहाव उच्च भएपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्तीसमेत बालिएको छ।

पूर्वी पहाडी क्षेत्रमा वर्षा जारी रहेकाले नदीको बहाव थप बढ्न सक्ने भन्दै प्रहरीले सप्तकोशी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी आसपासका क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ।

पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि पश्चिमतर्फ, २ लाख नाघेपछि पूर्वतर्फ र ३ लाख क्युसेक पार गरेपछि ब्यारेजको मध्यभागमा समेत रातो बत्ती बाल्ने व्यवस्था छ।

नदीको जलस्तर बढिरहेकाले किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन प्रहरीले आग्रह गरेको छ। कोशी ब्यारेज हुँदै आवतजावत गर्ने सवारीसाधनमा समेत सुरक्षा सतर्कता बढाइएको छ।

यसअघि शुक्रबार साँझ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको टोलीले ब्यारेज क्षेत्रको अनुगमन गरेको थियो। मुख्यमन्त्री कार्कीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायलाई आवश्यक तयारी र सतर्कता अपनाउन निर्देशन दिएका थिए।

कोशी ब्यारेजको पानी बहन क्षमता करिब ९ लाख ५० हजार क्युसेक रहेको बताइन्छ। तर ब्यारेजको माथिल्लो भागमा बालुवा थुप्रिँदा जोखिम बढ्ने गरेको छ। २०६५ भदौ २ गते १ लाख ६८ हजार क्युसेक बहाव हुँदा सप्तकोशीले पूर्वी तटबन्ध भत्काएर कोशी गाउँपालिकाका चारवटा बस्तीमा क्षति पुर्‍याएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ