सप्तकोशीको बाढीले सप्तरीका ५०० घर डुबानमा

सप्तरी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका करिब ५०० घर डुबानमा परेका छन् ।

स्थानीय प्रशासनका अनुसार हनुमाननगर कङ्कालिनी–५, ७, १२ र १३ का ४८३ घर तथा तिलाठी कोइलाडी–४ र ५ का १७ घर प्रभावित भएका छन् । बाढीबाट दुई हजारभन्दा बढी मानिस प्रभावित भएको जनाइएको छ ।

शुक्रबार रातिदेखि नदीको बहाव बढेपछि बस्तीमा पानी पसेको नगरप्रमुख वीरेन्द्र माझीले बताए । प्रभावित परिवारका लागि तत्काल बिहान–बेलुका दुई छाक खानाको व्यवस्था गरिएको उनले जानकारी दिए ।

पानीको सतह घटेपछि प्रभावित परिवारको विवरण संकलन गरी थप राहत सामग्री वितरण गरिने नगरपालिकाले जनाएको छ ।

लगातारको वर्षा र नदीको जलस्तरमा भइरहेको उतारचढावका कारण सप्तरीका नदी तथा तटीय क्षेत्रमा जोखिम कायमै रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ