६० घण्टापछि माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार

काठमाडौँ । रसुवाको टिमुरेमा ६ वर्षीया बालिकालाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।

गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढीले थुपारेको ढुंगा र काठभित्र पुरिएकी बालिकालाई सशस्त्र प्रहरीको खोज तथा उद्धार टोलीले शुक्रबार साँझ सकुशल बाहिर निकालेको हो।

सशस्त्र प्रहरीका अनुसार बालिका टिमुरे बोर्डर आउटपोस्टबाट करिब दुई सय मिटरको दूरीमा भेटिएकी थिइन्। उद्धार गरिएकी बालिकाको नाम मनिषा मगर रहेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उद्धारपछि उनलाई तत्काल प्राथमिक उपचार गरी सुरक्षित स्थानमा राखिएको थियो। शनिबार थप उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढीसहित तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि बेपत्ता भएकाको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ