बूढीगण्डकीमा भीषण बाढी, धेरै घरहरू बगायो

गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले चुमनुब्री गाउँपालिका–६ को जगत क्षेत्रमा घरहरू बगाउनुका साथै नदी आसपासका भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

स्थानीयका अनुसार बिहान एक्कासि ठूलो बाढी आएपछि सिर्दिवासस्थित जगत क्षेत्रका बासिन्दा त्रसित भएका थिए। उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएपछि स्थानीय र पर्यटक सुरक्षित स्थानतर्फ भागेका थिए।

चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार पहिरोले उग्युलुङ खोला थुनेपछि पानी एकैपटक बग्दा बाढी आएको हो। गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रले बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको जानकारी दिएका छन्।

बाढीका कारण तल्लो तटीय क्षेत्रका सल्लेरी र जगत बजारमा समेत जोखिम बढेको छ। स्थानीय प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन आग्रह गरेको छ।

बूढीगण्डकीमा आकस्मिक बाढी आएको भन्दै बाढी पूर्वानुमान महाशाखाले पनि मोबाइल सन्देशमार्फत तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ