काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गर्न लागेको छ । फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृह परिसरमा मेला आयोजना गर्न लागेको हो ।
विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको महानगरले जनाएको छ । कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र सङ्घ संस्थाहरूसँग सहकार्य हुने महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको उनको भनाइ छ । महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरूको क्षमता विकास लगायतका कार्यक्रमको बिम्ब मेलामा समेटिने बताए ।
मेला आयोजनाका लागि महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्नुहुनेछ । प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरू नै हुनेछन् ।
प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरूले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक फ्री फ्राइडे अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्पत रुचि र नतिजा प्रदर्शन गर्नेछन् । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनालाई अवलोकनका लागि निमन्त्रणा गरिएको मेलामा सामुदायिक विद्यालयहरूले दिवा खाजाका रूपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई ३० रुपैयाँमा नै उपलब्ध गराइनेछ । यस्तै नेपाल भाषा, मौलिक संस्कृति, भेसभुसा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिनेछ ।
विद्यार्थी नमुना संसद् अभ्यास, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, बुक फ्री फ्राइडेको बावा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका १ हजार बढी स्केचिङ र स्कल्प्चरको नमुना प्रदर्शनी, टिचर कलेज प्रोग्रामसम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदानप्रदान, महानगरपालिकाका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्र मेलाका आकर्षण हुन् ।
कार्यक्रमका ३ चरणमध्ये फेस्ट पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन ९२०८१ फागुन २३ गते० साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना बनाइएको छ ।
तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नवीनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तरक्रिया आयोजना गरिनेछ । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको छ । जसबाट प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्री फ्राइडे ९एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सिप०, टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहुवर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा छ । यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ कार्यान्वयनमा ल्याइएको प्रवक्ता मानन्धरले बताए ।
कार्यक्रमबाट सैद्धान्तिक शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाएर समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनमा योगदान गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो