बैतडी । नेपाल भारतले पञ्चेश्वर स्थित महाकाली नदीबाट संयुक्त रूपमा जलविद्युत उत्पादन गर्ने चर्चा चलेको करिब ७ दशक भन्दा बढी समय बितिसकेका छ । जलविद्युत मात्रै नभई, सिँचाइ र नदी संरक्षण सहितका आयोजना निर्माण गरेर पञ्चेश्वर बहुउद्देश्यीय परियोजना नामकरण गरिए पनि हाल सम्म यसको डीपीआर बनाउने बाहेक कुनै काम हुन सकेका छैनन् ।
पञ्चेश्वर निर्माण हुने चर्चाका कारण प्रभावित क्षेत्रमा विकास निर्माणका काम समेत प्रभावित छन् । पञ्चेश्वरकै चर्चाका कारण हाल निर्माणाधीन अवस्थामा रहेको महाकाली कोरिडोर समेत तटीय क्षेत्रबाट माथि सारिएको छ । जसले सडकको लम्बाई पनि बढेको छ ।
पञ्चेश्वरकै कारण तटीय क्षेत्रका जनता एकातिर विकास निर्माणबाट वञ्चित भएका छन् भने अर्कोतिर आयोजना बन्ने नबन्ने टुङ्गो नहुँदा दोधारमा बस्नु पर्ने बाध्यता छ । बैतडीको दशरथ चन्द नगरपालिका – १० का गोविन्द पन्तले पञ्चेश्वर बन्ने भनेर आफूहरूको बस्ती स्थानान्तरण गरिने भनिए पनि दशकौँ बितिसकेको बताए । ‘कति पटक त लगत सङ्कलन गरिसकिएको छ । तर, बाध बाँधिएपछि यो क्षेत्र डुबानमा पर्छ भनिन्छ’ उनले भने ‘तर, कहिले बन्ने हो । बन्ने हो की होइन अन्योलमा बसेका छौ ।’ उनले पञ्चेश्वर बन्ने भनेरै घर छेउबाट बन्ने भनेको महाकाली कोरिडोर पनि माथि डाँडामा सारिएको बताए ।
पञ्चेश्वर जलविद्युत आयोजना निर्माणको लागि भारतले सन १९५६ मा नै पहिचान गरेर अध्ययन सुरु गरेको थियो । नेपाल सरकारले पनि २०४४ सालमा परियोजनाको कार्यालय स्थापना गरेको थियो । २०५२ सालमा महाकाली सन्धि भएपछि ६ महिनाभित्र पञ्चेश्वर परियोजनाको डीपीआर बनाएर अघि बनाउने सहमति भएको थियो । त्यसपछि नेपालमा सुरु भएको सशस्त्र द्वन्द्वपछि सेलाएको यो परियोजना २०६५ सालपछि चर्चामा आए पनि पञ्चेश्वर विकास प्राधिकरण गठन गरेर अध्ययन गर्ने बाहेक केही काम भएको छैन ।
४ हजार ८ सय मेगावाट विद्युत् उत्पादन गर्ने गरी अघि सारिएको यो परियोजनाको निर्माण सुरु नभए पनि बेला बेलामा चर्चा भने हुने गरेको छ । पछिल्लो पटक पुस २५ गते भएको दुई देश बिचका ऊर्जा मन्त्रीबिच भएको छलफलमा पञ्चेश्वर परियोजना अघि बनाउने सहमति भएको जनाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले पछिल्लो पटक यो परियोजनालाई टुङ्गोमा पु¥याउने गरी छलफल भएको बताए । उनले डीपीआर, पानी बाँडफाँट र सेयर लगानीको हिस्साका बारेमा टुङ्गो लगाउने गरी छलफल भइरहेको बताए । मन्त्रालयले यस विषयमा अगस्ट सम्ममा टुङ्गो लगाउने गरी छलफल भइरहेको जनाएको छ । करिब ७ दशक देखि चर्चामा रहेको यो परियोजना नेपालका प्रधानमन्त्री भारत भ्रमणमा गएको बेला चर्चामा आउने गरेको भए पनि पुनः सेलाउने गरेको छ ।
परियोजना बनाउन दुवै देश सहमत भए पनि नेपाल र भारतबिच पानी बाँडफाँट र लागतका विषयमा कुरा मिल्न सकेको छैन । पछिल्लो समय यसमा सहमति जनाउन दुई देशका विज्ञ समूहले छलफल गर्दै आएका छन् । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणका लागि हाल ५ खर्ब ६० अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो