धनगढी । २०७४ फागुन २४ का दिन कैलालीको घोडाघोडी नगरपालिकामा राधा चौधरी नामकी एक युवतीलाई बोक्सीको आरोप लगाउँदै गाउँलेले निर्घात कुटपिट गरे ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मानवअधिकारकर्मी, मिडियाकर्मी, प्रहरी प्रशासन र सरकार लगायत विभिन्न पक्षको ध्यानाकर्षण भयो । परिणामस्वरुप कुटपिटमा संलग्न ६ जनालाई कानुनी कारबाही गर्दै कारागार चलान गरियो ।
यसै वर्ष पुस १ गते कैलालीकै भजनी नगरपालिकामा २८ वर्षीय हसिना चौधरीलाई बोक्सीको आरोप लगाउँदै गाउँकै केही व्यक्तिले सार्वजनिक रूपमा कुटपिट गरे । गाउँमा ‘गुरुबा’ भनेर चिनिने बाबुराम डगौरासहित केही व्यक्तिले उनीमाथि आक्रमण गरे ।
कुटपिट हुँदा हसिना घरमा एक्लै थिइन् । उनका श्रीमान् रोजगारीका लागि भारतमा थिए । पत्नीमाथि आक्रमण भएको खबर पाएपछि श्रीमान् ४८ घण्टाको यात्रा गरेर घर फर्के । उनी घर पुग्दा हसिनामाथि फेरि कुटपिट हुन लागेको खबर आयो ।
उनका श्रीमान् चुन्नीलाल घटनास्थल पुगे । हसिनामाथि कुटपिट भइरहेको थियो । उनले रोक्न खोजे तर कुनै उपाय नलागेपछि प्रहरीलाई खबर गर्छु भनेर धम्काए । त्यसपछि मात्रै कुटपिट रोकियो ।
पुस २ गते उनका हसिनाका बाबुले प्रहरीमा उजुरी गरे । त्यही आधारमा चार जनालाई पुस ४ गते पक्राउ गरियो ।
हालै भएका यी प्रतिनिधिमुलक घटनामात्र हुन् । यस्ता घटनाले नेपालको कानुनी व्यवस्था, समाजमा रहेका अन्धविश्वास र राज्यको वास्तविक उपस्थिति कति कमजोर छ भन्ने उजागर गर्दै आएको छ ।
बोक्सीका नाममा हुने यस प्रकारका घटनालाई उन्मूलन गर्न भनेर विभिन्न तहबाट आवाज उठाइएको छ ।
कैलाली लगायत सुदूरपश्चिमका अन्य जिल्लामा यस्ता घटना निरन्तर भइरहेका छन् । केही घटना प्रहरी प्रशासनसम्म पुग्छन् भने धेरैजसो घटना गाउँमै दबिन्छन् ।
विशेष गरी सुदूरपश्चिमका थारू समुदायमा यस प्रकारको समस्या बढी देखिएको छ । अन्धविश्वास र अशिक्षाका कारण यस्तो समस्या फैलिएको धेरैको भनाइ छ ।
यस्ता प्रायः घटनामा महिलालाई निशाना बनाउने गरिएको छ । कहिलेकाहीँ पुरुषलाई पनि बोक्सीको आरोप लगाएर सार्वजनिक रूपमा अपमान र हिंसा गरिन्छ । यहाँसम्मकि, बोक्सीको आरोप लगाएर सम्बन्धित व्यक्तिमाथि शारीरिक, मानसिक र यौनिक अत्याचारसमेत हुने गरेको पाइन्छ ।
सामाजिक, सांस्कृतिक र धार्मिक अन्धविश्वासहरूको घेरामा यस प्रथाले जरा गाडेको सरोकारवाला बताउँछन् । ग्रामीण र अशिक्षित नागरिकको बाहुल्यता भएको समाजमा मात्र नभएर शिक्षित व्यक्तिहरू भएको समाजमा पनि यस प्रकारका घटना प्रकाशमा आउने गरेका छन् ।
कानुनी सहयोग खोज्दा पनि धेरै स्थानमा आफ्ना आवाजलाई दबाउने गरिएको कतिपय पीडित बताउँछन् ।
नेपालको संविधान, २०७२ को धारा ३८ ९३० अनुसार महिलाविरुद्ध हुने कुनै पनि प्रकारको हिंसा, सामाजिक विभेद वा शोषण दण्डनीय छ ।
मुलुकी अपराध संहिता–२०७४ को दफा १६८ ९१० मा अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने प्रावधान छ । कसैमाथि अपमानजनक वा अमानवीय व्यवहार गरेमा पाँच वर्षसम्म कैद र पचार हजार रुपैयाँ जरिबानाको व्यवस्था छ ।
तर, उल्लिखित कानुनी प्रावधानका बाबजुद यसको प्रभावकारी कार्यान्वयनको अभावले यस्ता घटना दोहोरिने गरेका छन् ।
कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८र०७९ मा बोक्सी आरोप सम्बन्धी दुई वटा घटनामात्र दर्ता भए । २०७९र०८० र २०८०र०८१ मा यस प्रकारका कुनै घटना दर्ता नभएको देखिए पनि वास्तविकता भने फरक छ ।
गाउँमा हुने यस प्रकारका धेरै घटना प्रहरीसम्म पुग्दैनन् । समाजको ठुलो हिस्सा अझै पनि अन्धविश्वासमै कायम गर्छ । यस प्रथामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्नका लागि ग्रामीणस्तरमा सचेतना कार्यक्रमका साथै सामाजिक अभियानकै खाँचो देखिएको सरोकारवाला बताउँछन् ।
स्थानीय अधिकारकर्मी रामप्यारी चौधरीका अनुसार अझै पनि गाउँमा कोही बिरामी परे, कुनै समस्या आए अथवा अनौठो घटना घटे भने धामीझाँक्री र गुरुबाहरूले ‘बोक्सीको प्रभाव’ भनेर आरोप लगाउँछन् ।
त्यसपछि यस्ता घटनाका लागि कसैलाई जिम्मेवार ठहर गर्ने र कुटपिट तथा सामाजिक बहिष्कार गर्ने गरिन्छ ।
अहिलेको जमानामा पनि बोक्सा–बोक्सीको आरोपमा कुटपिटमा पर्ने गरेका घटनाले लज्जित बनाउने गरेको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले बताए ।
‘हामी त्यसको विरूद्धमा सधैँ लागेका छौँ, बोक्सी किन हुन्छ रु के हो रु बोक्सी, जादु र टुना के हो भनेर ती आरोप लगाउने गुरूबाहरूले प्रमाणित गर्नुपर्यो,’ उनले भने ।
जादुमार्फत गुरूबाहरूले बोक्सीलाई नचाउँछन् भन्ने आफूले पनि सानैदेखि सुनेको भन्दै नगर प्रमुख चौधरीले भने, ‘यस्ता कुरामा सत्यता छैन । यस्ता कुरा केवल शंका र उपशंकाका आधारमा गरिन्छ ।’
नगर प्रमुख चौधरीका अनुसार अन्धविश्वासका कारण शिक्षित समाजमा पनि यस्ता घटना भइरहेका छन् । ‘अहिलेको जमानामा अशिक्षित कोही पनि छैनन् । स्थानीय सरकारबाट सचेतना पार्ने काम त कयौँ वर्षदेखि भइरहेको छ । कानुन पनि बनेको छ, बनेको कानुनको पनि डर नमान्ने, अबुझलाई बुझाउन पनि गाह्रो छ ।’
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार चेतनाको कमीका कारण अन्धविश्वासमा यस्ता घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।
‘हामीले कानुनी कारबाही गर्छौं तर समाजमा चेतनाको कमी छ । जबसम्म जनस्तरबाटै यस्ता कुराहरू अन्त्यको पहल हुँदैन, प्रहरी कारबाही मात्रै पर्याप्त हुँदैन’, उनले भने ।
बोक्सी प्रथालाई जरैदेखि उन्मुलन गर्नका लागि कानुन कार्यान्वयन मजबुत बनाउने, जनचेतना अभिवृद्धि गर्ने, स्कुल र स्थानीय तहबाट शिक्षित गर्नुपर्ने लगायतका काम गर्नुपर्ने अधिकारकर्मी नानु सिंहको भनाइ छ । धामीझाँक्री र गुरुबाहरूको गतिविधिमा निगरानी र पीडितलाई संरक्षण तथा पुनःस्थापना गर्ने काममा लाग्नुुपर्ने उनको जोड छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो