धनगढी : सुदूरपश्चिमको दिगो आर्थिक समृद्धिका लागि उत्तर–दक्षिण र पूर्व–पश्चिम सडक सञ्जाल विस्तार अपरिहार्य
धनगढी, १० फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको समग्र विकासलाई लक्षित गर्दै धनगढी–खुटिया–बिपिनगर–दिपायल–सायल–बझाङ हुँदै उरै भञ्ज्याङ जोड्ने रणनीतिक सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आइतबार धनगढी उपमहानगरपालिका–१७, दिपनगरमा आयोजित वडा भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिमको दिगो आर्थिक समृद्धिका लागि उत्तर–दक्षिण र पूर्व–पश्चिम सडक सञ्जाल विस्तार अपरिहार्य रहेको बताउनुभयो।
“यो सडक केवल यातायातको माध्यम मात्र होइन, सुदूरपश्चिमको भाग्य र भविष्य जोड्ने जीवनरेखा हो,” उहाँले भन्नुभयो, “जुनसुकै परिस्थितिमा पनि यो सडक निर्माण गरेरै छाड्ने मेरो अठोट छ।”
उहाँका अनुसार प्रस्तावित सडकले कैलाली, डोटी, बझाङ लगायत पहाडी तथा हिमाली जिल्लालाई तराईसँग प्रत्यक्ष रूपमा जोड्नेछ। यसबाट कृषि उपज बजारसम्म पुर्याउन सहज हुने, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तथा स्थानीय उत्पादनले राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो।
नेता अलेले सुदूरपश्चिममा पूर्वाधार अभावकै कारण विकासको गति सुस्त रहेको उल्लेख गर्दै सडक, पुल, विद्युत, सिँचाइ र स्वास्थ्य पूर्वाधार विस्तार आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो।
“म विकास गर्ने मान्छे हुँ। कैलाली–५ सहित, सिंगो सुदूरपश्चिमको समग्र विकास मेरो पहिलो प्राथमिकता हो,” उहाँले जोड दिनुभयो।
उहाँले विगतमा पनि सुदुर पश्चिमको विकासका लागि करोडौँ रुपैयाँ बजेट विनियोजन गरेको दाबी गर्दै आगामी दिनमा थप योजनाबद्ध ढंगले बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो।
“हामीले सुरु गरेका धेरै योजनाहरू निर्माणको चरणमा छन्, केही सम्पन्न भइसकेका छन्। अब अझ ठूला र दीर्घकालीन परियोजनामा ध्यान केन्द्रित गर्नेछौं,” उहाँले भन्नुभयो।
भ्रष्टाचार नियन्त्रणतर्फ संकेत गर्दै आलेले सरकारी सम्पत्तिमा हिनामिना गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउने स्पष्ट पार्नुभयो।
“मैले लेख समितिमा प्रमाण सहित आवाज उठाएर भ्रष्टाचार गर्नेहरूलाई ठाउँका ठाउँ कारबाही गरी जेल पठाइएको छु। भ्रष्टाचारीलाई पानीमुनी गए पनि नछाड्ने मेरो अडान छ,” उहाँको भनाइ थियो।
नेता आलेले समृद्ध सुदूरपश्चिम निर्माणका लागि जनताको साथ र विश्वास आवश्यक रहेको बताउँदै विकासका योजनालाई कार्यान्वयनमा लैजान आफू सधैं अग्रसर रहने प्रतिबद्धता दोहोर्याउनुभयो।
“हामी मिलेर सुदूरपश्चिमको मुहार फेर्न सक्छौं,” उहाँले भन्नुभयो, “अबको पाँच वर्ष विकास र समृद्धिको आधार निर्माण गर्ने समय हो।”
राजनीतिक विश्लेषकहरूका अनुसार सुदूरपश्चिममा ठूला पूर्वाधार परियोजनाहरूको प्रतिबद्धता चुनावी एजेन्डाको केन्द्रमा रहँदै आएको छ।
विशेषगरी दुर्गम क्षेत्रलाई यातायात सञ्जालसँग जोड्ने योजनाले मतदातामाझ महत्वपूर्ण प्रभाव पार्ने गरेको देखिन्छ।
स्थानीय बासिन्दाले पनि प्रस्तावित सडक निर्माणले शिक्षा, स्वास्थ्य, रोजगारी र व्यापार क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा सो पार्टीका नेता, स्थानीय प्रतिनिधि, युवा तथा महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो