थापाथलीबाट विस्थापित हिरालालको होल्डिङ सेन्टरमै मृत्यु

भक्तपुर । थापाथलीमा बदाम बेचेर परिवारको जीविका चलाउँदै आएका ५७ वर्षीय हिरालाल पासवानको भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा मृत्यु भएको छ।

थापाथली सुकुम्बासी बस्तीबाट विस्थापित भएपछि हिरालाल परिवारसहित सुरुमा कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रको होल्डिङ सेन्टरमा पुगेका थिए। त्यहाँ बाढीको समस्या भएपछि सरकारले उनीहरूलाई भक्तपुरको बोडेमा सारिएको थियो।

बिहीबार आफ्नै कोठामा हिरालाल झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीका अनुसार खाना खान बोलाउन जाँदा उनका छोरा रविले बुवालाई मृत अवस्थामा देखेका थिए।

रविका अनुसार थापाथलीबाट हटाइएपछि हिरालाल मानसिक रूपमा निकै चिन्तित देखिन्थे। बदाम बेचेर परिवारको खर्च जुटाउँदै आएका उनी अनिश्चित बसाइ र भविष्यको अन्योलका कारण तनावमा रहेको परिवारको भनाइ छ।

‘हामी ६ जनाको परिवार यहाँ छौँ। बुवाले बदाम बेचेर घरखर्च चलाउनुहुन्थ्यो। थापाथलीबाट हटाएपछि उहाँ निकै बेचैन हुनुहुन्थ्यो,’ रविले बताए। रवि स्वयं ज्याला मजदुरी गरेर परिवार धान्दै आएका छन्।

होल्डिङ सेन्टरका छिमेकीहरूका अनुसार हिरालाल केही समययता आफूले पाउने भनिएको जग्गाको सूचीमा नाम नपरेको विषयमा पनि चिन्ता व्यक्त गर्दै आएका थिए।

प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सूर्यबहादुर खड्काले प्रारम्भिक अनुसन्धानका क्रममा हिरालाल कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाकी प्रवक्ता स्मिता आचार्यका अनुसार हिरालाल सन् २०६३ सालदेखि थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका थिए।
थापाथलीबाट विस्थापित भएपछि अस्थायी होल्डिङ सेन्टरमा बस्दै आएका परिवारका लागि दीर्घकालीन पुनर्स्थापना र जीविकोपार्जनको व्यवस्था नहुँदा उत्पन्न भएको अन्योलले हिरालालको जीवनमा गम्भीर असर पारेको उनका छिमेकी तथा आफन्तहरूको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ