काठमाडौँ । रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ४ सय ६९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ९ सय ७७ जना बेपत्ता छन् ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले शुक्रवार दिएको जानकारीअनुसार बाढी प्रभावित क्षेत्रबाट ३ हजार २५३ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये बिहीबार मात्रै जलविद्युत् आयोजनाको सुरुङबाट ५ सय जनालाई बाहिर निकालिएको थियो ।
सुरुङमा अझै केही व्यक्ति फसेको हुनसक्ने भएकाले खोजी तथा उद्धार जारी रहेको उप्रेतीले बताए ।
बेपत्ताको खोजी र उद्धारलाई तीव्र बनाउन शुक्रवार बिहान तीनवटा हेलिकप्टर परिचालन गरिएको छ । सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा राहत तथा खाद्यान्न पुर्याउन एक टनसम्म सामान बोक्न सक्ने ‘लिफ्टिङ ड्रोन’ समेत प्रयोग भइरहेको छ ।
नेपाली सेना र नेपाल प्रहरीका टोली उद्धार, शव व्यवस्थापन तथा प्रभावित क्षेत्रको अवस्था पहिचान गर्न विभिन्न स्थानमा खटिएका छन् ।
चितवनमा १७८ शव फेला
बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा छन् । प्राधिकरणका अनुसार चितवनमा १७८, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ ।
कतिपय स्थानमा शवको सट्टा मानव अंग मात्रै फेला परेकाले पहिचानमा समस्या भइरहेको प्राधिकरणले जनाएको छ ।
सुरक्षाकर्मी र कर्मचारीसमेत सम्पर्कविहीन
बेपत्ता हुनेमा सुरक्षाकर्मी र सरकारी कर्मचारी पनि छन् । नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ तथा सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन रहेको विवरण छ ।
यस्तै, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारीको अवस्था अज्ञात छ । सर्वसाधारणतर्फ रसुवाका १६१ र नुवाकोटका एक जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।
बाढीमा घाइते भएका ७३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेत्रावती क्षेत्रमा रहेका १७ घाइतेलाई तत्काल अक्सिजन आवश्यक परेकाले त्यसको व्यवस्था भइरहेको छ ।
सुरक्षित स्थानमा लैजाने प्रयास
उत्तरगया, डाँडागाउँ र किस्पाङ गाउँपालिकाको सीमा क्षेत्रमा करिब १ सय जना सुरक्षित अवस्थामा रहेका छन् । लिरिङ्गे स्कुलमा पनि करिब १५० जना सुरक्षित रहेको बताइएको छ ।
उनीहरूलाई त्रिशूली नदी पार गराएर सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ । २१६ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजनामा रहेका व्यक्तिका लागि खाद्यान्नको व्यवस्था गरिएको छ ।
प्राधिकरणले उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रलाई चौबीसै घण्टा परिचालन गरिएको जनाएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो