राज्य तपाईहरुको साथमै छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले भोटेकोसी बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुन:स्थापनाका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्। उद्धारको प्रतीक्षामा रहेका सबै नागरिकसम्म सरकार पुग्ने उनको प्रतिबद्धता छ।बालेन

प्रधानमन्त्रीका अनुसार रसुवा, भोटेकोशी–त्रिशूली करिडोरलगायत क्षेत्रमा १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन भएका छन्। हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ, जसमा जलविद्युत् आयोजनाका सुरुङबाट निकालिएका १९१ जना र शुक्रबार हवाई उद्धार गरिएका ५१७ जना छन्।

उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा नियमित उडान भइरहेको छ। हालसम्म ९९ वटा हवाई उडान भएको जनाइएको छ।

अपर त्रिशूली र रसुवागढी जलविद्युत् आयोजनालगायत जोखिमयुक्त सुरुङमा फसेका नागरिक तथा कामदारको खोजीलाई उच्च प्राथमिकता दिइएको छ। खोजी कार्य त्रिशूली–नारायणी नदी करिडोर हुँदै नवलपरासीसम्म विस्तार गरिएको छ।

प्रधानमन्त्री शाहले भारत, चीन तथा अन्य अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार र राहतका लागि निरन्तर समन्वय भइरहेको भन्दै विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक भएको स्पष्ट पारेका छन्।

बाढी प्रभावित क्षेत्रमा ३२ ट्रक राहत सामग्री पठाइएको छ भने २ लाखभन्दा बढी एसएमएसमार्फत पूर्वसूचना दिइएको छ। रसुवा वैकल्पिक सडकबाट सडक सञ्जालमा जोडिएको तथा क्षतिग्रस्त पुलमा बाइपास निर्माण सुरु गरिएको छ।

बाढीबाट प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत तथा उद्धारका लागि ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी संकलन भएको प्रधानमन्त्रीले बताएका छन्।

सरकारले प्रभावित परिवार तथा व्यवसायका लागि राहत र पुन:स्थापना प्याकेजसमेत तयार गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ