सुरुङ उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ बोलाउन प्रदीप परियारको आग्रह

काठमाडौं । दलित लाइभ्स म्याटर ग्लाेबल एलायन्सका प्रमुख प्रदीप परियारले विपत्तिको यस कठिन घडीमा सुरुङ तथा कठिन भूभागमा उद्धारका लागि अन्तर्राष्ट्रिय विशेषज्ञ र आवश्यक उपकरण तत्काल नेपाल ल्याउन सरकारसमक्ष आग्रह गरेका छन्।

परियारले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा विदेशी उद्धार विशेषज्ञ तथा प्राविधिकहरू आएर सहयोग गर्न थालेको विषयलाई सकारात्मक कदम भन्दै उपलब्ध जनशक्ति र उपकरण पर्याप्त नभए थप अन्तर्राष्ट्रिय सहयोग लिन ढिला गर्न नहुने बताएका हुन्।

उनले ‘जीवन बचाउने काममा सहयोग माग्न ढिला नगरौँ’ भन्दै सुरुङ तथा कठिन भूभागमा उद्धारको अनुभव भएका अन्तर्राष्ट्रिय विशेषज्ञ, प्राविधिक र आवश्यक उपकरण तत्काल ल्याउन सरकारलाई आग्रह गरेका छन्।

त्यस्तै, उनले विपत्तिमा मृत्यु भएकाहरूको शव व्यवस्थापन पनि सम्मानपूर्वक गर्नुपर्नेमा जोड दिएका छन्। शवको पहिचान, संरक्षण तथा परिवारसम्म सुरक्षित हस्तान्तरणलाई उच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

परियारले वर्तमान अवस्था सामान्य नभएको उल्लेख गर्दै असाधारण अवस्थाअनुसार असाधारण निर्णय र विशेष आपत्कालीन पहल आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ