उपल्लो मुस्ताङका हिमतालको ड्रोनबाट निगरानी

मुस्ताङ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने तथा बाढी आउन सक्ने सम्भावित जोखिम पहिचान गर्न स्थलगत निरीक्षणसँगै ड्रोनबाट निगरानी थालिएको छ। हालसम्म निरीक्षण गरिएका स्थानमा भने तत्काल जोखिम निम्त्याउने अवस्था फेला नपरेको अधिकारीहरूले बताएका छन्।

भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको जोखिम मूल्याङ्कन र पूर्वतयारीलाई प्राथमिकता दिइएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरीको बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ र संरक्षण क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधि सम्मिलित टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा आसपासका संवेदनशील क्षेत्रको निगरानी गरिरहेको छ।

एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल–चीन सीमामा पर्ने १८ र १९ नम्बर सीमास्तम्भ आसपास रहेका कालीगण्डकी नदी प्रणालीका दुई मुहानको निरीक्षण गरिएको थियो। स्थलगत अवलोकन तथा ड्रोनबाट गरिएको निगरानीका क्रममा हिमपातको अवस्था र सम्भावित जोखिमबारे मूल्याङ्कन गरिएको थियो। ती क्षेत्रमा तत्काल जोखिम देखिएको छैन।

त्यसपछि लोमान्थाङभन्दा माथिल्लो भागमा रहेको घ्याकरछु तालको अवस्थाबारे पनि निरीक्षण गरिएको छ। समुद्र सतहबाट करिब ५ हजार ५५० मिटर उचाइमा रहेको उक्त क्षेत्रमा ड्रोनबाट गरिएको निगरानीमा हिमनदीका ढिस्काहरू देखिए पनि तत्काल बाढी वा हिमताल फुट्ने जोखिमको संकेत नदेखिएको पौडेलले जानकारी दिए।

अब चुमजुङभन्दा माथि पर्ने छुआमा पिकको शिर तथा लोघेकर दामोदरकुण्ड–१ चराङमाथिका उच्च पर्वतीय क्षेत्रमा अनुगमन गर्ने तयारी छ। जीपीएसबाट ती क्षेत्रमा हिमताल रहेको देखिएपछि प्रत्यक्ष पुगेर अवस्थाको यकिन गर्न लागिएको पौडेलले बताए।

गत वर्ष चुमजुङमाथि रहेको छुआमा पिक क्षेत्रबाट कालीगण्डकी नदी प्रणालीमा लेदोसहितको बाढी आएपछि त्यस आसपासका बस्तीमा जोखिम बढेको थियो। त्यसलाई समेत ध्यानमा राखेर यसपटक उच्च हिमाली क्षेत्रको जोखिम पहिचान र निगरानीलाई निरन्तरता दिइएको हो।

एक्यापका अनुसार हिमताल विस्फोट, हिमपहिरो तथा आकस्मिक बाढीजस्ता सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदीका मुहान र संवेदनशील क्षेत्रको नियमित अनुगमन गरिनेछ। सम्भावित विपद्को पूर्वपहिचान, समयमै सूचना प्रवाह र प्रभावकारी उद्धार तथा प्रतिकार्यका लागि उच्च हिमाली क्षेत्रमा पूर्वतयारी थप मजबुत बनाउने योजना रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ