पहिचान नखुलेका ८९७ शव जमिनमुनि गाडियो

काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएका मध्ये पहिचान खुल्न नसकेका ८९७ जनाको शव प्रहरीले जमिनमा व्यवस्थापन गरेको छ। पछि डीएनए परीक्षणमार्फत पहिचान गरी आफन्तको जिम्मा लगाउने गरी शव पुरिएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार हालसम्म १ हजार २५२ शव फेला परेका छन्। तीमध्ये ९५ जनाको मात्रै पहिचान भएको छ भने पहिचान भएका शव आफन्तलाई बुझाइएको छ।

पहिचान हुन बाँकी शवको डीएनए परीक्षणका लागि प्रहरी अस्पताल तथा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत नमुना संकलन भइरहेको प्रहरीले जनाएको छ। जमिनमा व्यवस्थापन गरिएका शवमध्ये २१३ महिला, ३१४ पुरुष र ३७० जनाको लिंगसमेत खुल्न सकेको छैन।

प्रहरीले पहिचान हुन नसकेका ९६० शवको विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। भदौ १० गतेको बाढीपछि सम्पर्कविहीन भएका ४ हजार ८७५ जनाको खोजी जारी रहेको डीआईजी काफ्लेले बताए।

उनका अनुसार खोज, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि प्रभावित क्षेत्रमा ७ हजार ९१२ प्रहरी परिचालन गरिएको छ। उद्धार गरिएका ३ हजार १०३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ।

हालसम्म रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा १९० शव फेला परेका छन्। भारतमा भेटिएका १८ शवसमेत नवलपरासी पश्चिममा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ