रसुवा बाढी : अहिलेसम्म ३ हजार ९३५ जनाको उद्धार

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको छ।

सेनाका अनुसार शुक्रबार साँझ ७ बजेसम्म हवाई तथा जमिनमार्फत उद्धार, टनेलभित्र खोजी, शव व्यवस्थापन, सडक खुलाउने र स्वास्थ्य सेवा प्रदान गर्ने कार्य जारी छ।

नेपाली सेनाले हवाई मार्फत शुक्रबार मात्रै १३ जनाको उद्धार गरेको छ। हालसम्म सेनाले २७३ जना विदेशी नागरिकसहित ३ हजार ९३५ जनालाई हवाई उद्धार गरिसकेको जनाएको छ।

जलविद्युत आयोजनाका टनेलहरूमा पनि संयुक्त टोली परिचालन गरी खोजी भइरहेको छ। लाङटाङ हाइड्रोको टनेलमा विदेशीसहित २५ जनाको टोली करिब २०० मिटरभित्र प्रवेश गरी विभिन्न स्थानमा खोजी गरिरहेको छ। सो टनेलबाट हालसम्म दुईवटा शव फेला परेको सेनाले जनाएको छ।

चिलिमे हाइड्रोमा पनि विदेशी नागरिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ। त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा ९३ जनाको टोलीले पाँचवटा एक्स्काभेटर, कम्प्रेसर र ब्रेकर प्रयोग गरी लेदो, ढुंगा तथा बालुवा हटाउने काम गरिरहेको छ। टनेलभित्र भेटिएको ठूलो ढुंगा हटाउन ब्लास्टिङ गर्ने तथा थप उपकरण प्रयोग गरी खोजी अघि बढाइएको छ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ मा नेपाली सेनाका ८९ जनासहित गैरसैनिक र आयोजनाका अधिकारी सम्मिलित टोलीले कार्यालय तथा आवास क्षेत्रसम्म पुग्ने बाटो निर्माण गरिरहेको छ। अडिट–१ बाट ४२६ मिटरभित्र प्रवेश गरी खोजी भइरहेको र थप मिनी एक्स्काभेटरसमेत परिचालन गरिएको छ।

माथिल्लो त्रिशूली–१ मा पनि आयोजनाका इन्जिनियरसहितको टोलीले विभिन्न टनेलमा खोजी गरेको छ। एक्सेस टनेल–१ बाट करिब २०० मिटर अघि बढ्दा बन्द भाग फेला परेको र त्यहाँबाट एउटा शव निकालिएको सेनाले जनाएको छ। अडिट टनेल–३ बाट अपस्ट्रीम क्षेत्रमा करिब १।८ किलोमिटरसम्म खोजी गरिएको छ।

यसैबीच, देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाका ५५ जना इन्जिनियरिङ फौज खटिएका छन्। पुल निर्माणका लागि गजुरीमा रहेको एक्रो ब्रिज त्रिशूलीतर्फ लैजाने तयारी भइरहेको छ।

प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गर्दै सेनाले स्थानीयलाई सुरक्षा तथा स्वास्थ्य सेवा पनि प्रदान गरिरहेको छ। त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत शुक्रबार मात्रै ७३ जनाले स्वास्थ्य सेवा पाएका छन्। हालसम्म ३ हजार २१५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ।

मित्रराष्ट्रबाट प्राप्त करिब १ हजार ९०० किलोग्राम राहत तथा उद्धार सामग्री सेनाको हवाई साधनमार्फत धुन्चे र त्रिशूली पुर्‍याइएको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ