काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ जना सांसदले प्रधानमन्त्री शाहलाई प्रत्यक्ष प्रश्न सोध्नेछन्।
संसद् सचिवालयमा दर्ता भएको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने भएका छन्।
नेपाली कांग्रेसबाट प्रमुख सचेतक वासना थापा र सांसद गीता गुरुङ, नेकपा एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर तथा सांसद गणेश सिंह ठगुन्नाले प्रश्न दर्ता गराएका छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने भएका छन्।
प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले प्रश्न गर्न सक्नेछन्। सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि छुट्याउन सक्ने व्यवस्था रहेको छ।
एक पटकको प्रश्नोत्तर कार्यक्रममा बढीमा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने भए पनि यसपटक हालसम्म ११ जनाको मात्रै नाम दर्ता भएको छ। बाँकी चार स्थानमा अझै प्रश्नकर्ता सांसदको नाम टुंगो लागेको छैन।
सांसदहरूले सरकारका नीति तथा कार्यक्रम, सुशासन, सार्वजनिक सेवा, विकास निर्माण र जनसरोकारसँग जोडिएका समसामयिक विषयमा प्रधानमन्त्रीलाई प्रश्न गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको संसद्मै प्रत्यक्ष जवाफ दिनेछन्।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सांसदका प्रत्यक्ष प्रश्नको पहिलोपटक सामना गर्न लागेकाले बुधबारको प्रश्नोत्तर कार्यक्रमलाई विशेष चासोका साथ हेरिएको छ। नियमावलीमा यस्तो कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्थासमेत रहेको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी