सुशासन र जवाफदेहिता बिना संसदीय बहुमतले मात्रै स्थायित्व ल्याउन सक्दैन : सुशीला कार्की

काठमाडौं । जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारकी प्रमुख सुशीला कार्कीले जेनजी आन्दोलनले मुलुकको शासनसत्ता र राजनीतिक नेतृत्वलाई सुशासन, पारदर्शिता एवम् नागरिकप्रतिको उत्तरदायित्वका विषयमा गम्भीर चेतावनी दिएको बताएकी छन्।

आज भदौ २३ गते आयोजित आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा आफ्नो धारणा राख्दै कार्कीले, गत वर्ष युवापुस्ताले राम्रो भविष्य, पारदर्शिता र जिम्मेवार शासनको माग गर्दै सडकदेखि सामाजिक सञ्जालसम्म उठाएको आवाजलाई दबाउने प्रयास गर्दा अनेकौँ निर्दोष युवाहरूले ज्यान गुमाउनुपरेको स्मरण गरिन्।

सो क्रममा उनले आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छन्।

आन्दोलनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको र हाम्रा अमूल्य राष्ट्रिय सम्पदा एवम् धरोहरहरू नष्ट भएको उल्लेख गर्दै कार्कीले भनिन्, ‘राष्ट्रलाई परेको यो क्षति कहिल्यै पूरै परिपूर्ति हुन सक्दैन। यस्ता दुःखद घटनाहरू भविष्यमा दोहोरिन नदिन समाजका हरेक वर्ग र निकाय जिम्मेवार, इमानदार र सचेत बनेर अघि बढ्नुपर्छ।’

उनका अनुसार जेनजी विद्रोहले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्ने अवसर दिएको छ। केवल संसद्को दुई-तिहाइ बहुमतले मात्रै देशमा राजनीतिक स्थिरता ल्याउन नसक्ने र असली स्थिरता सत्ता सञ्चालकहरूको नियत, चरित्र र कार्यशैलीमा भर पर्ने उनको तर्क छ।

‘शासनमा सुशासन र इमानदारिता छैन भने दुई(तिहाइको गणितले पनि देशलाई स्थायित्व दिन सक्दैन,’ सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘स्थिरता भनेको संसदीय अङ्कगणित मात्र होइन, शासकको स्वच्छ आचरण र कार्यशैलीको उपज हो।’

कार्कीले भ्रष्टाचार अन्त्य गर्न, विधिको शासन कायम राख्न र आम नागरिकको मर्यादा जोगाउनका लागि सरकारले परिणाममुखी कदम चाल्नुपर्नेमा जोड दिएकी छन्।

यसैबीच, जेनजी आन्दोलनको चोट पुरानो हुन नपाउँदै देश भोटेकोशीमा आएको भीषण बाढीको अर्को विपत्तिसँग जुधिरहेको भन्दै उनले दुःख व्यक्त गरेकी छन्। यस्तो संकटको समयमा सम्पूर्ण देशवासी धैर्यवान्, उत्तरदायी र एकजुट भएर अगाडि बढ्नुपर्ने उनले बताइन्।

विपद्को यस कठिन परिस्थितिमा एक-अर्काको परिपूरक बनेर पीडितहरूको घाउमा मल्हम लगाउँदै सामूहिक रूपमा सामना गर्न उनले सबैमा हार्दिक आह्वान गरेकी छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ